सुर्खेत, ७ मंसिर । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सुरुङ खन्नका लागि टनेल बोरीङ्ग मेसीन (टीबीएम) राख्ने प्लेट फमको काम नब्बे प्रतिशत सम्पन्न गरेको छ । सुरुङ खन्नका लागि आवश्यक पर्ने मेसीनलाई राख्न प्लेट फमको काम नब्बे प्रतिशत पूरा भएको भेरी बबई डाइर्भसन आयोजनाका प्रमुख शिवकुमार बस्नेतले जनाएका छन् ।
१२ किलोमिटर सुरुङ खन्ने मेसीनका लागि टनेल बोरीङ मेसीन प्लेट फम आवश्यक पर्ने भएकाले त्यसको काम पूरा भएको आयोजना प्रमुख बस्नेतले बताए । सुरुङ खन्नका लागि बनाइएको मेसीन एक वर्षभित्र निर्माण स्थलमा ल्याई काम सुरु गरिने उनले बताए । आयोजनाले सामाजिक विकासतर्फ कुलो सुधार तथा लाइनिङ सिक्मेण्ट, प्रडक्सन प्लान, इक्वीमेण्ट लगायतका काम सुरु भएको उनले बताए ।
भेरीको पानी बबईमा ल्याउन चाइनिज कम्पनी (कोभेक)ले चार वर्षभित्र १२ किलोमिटर सुरुङ निर्माण गर्ने लक्ष्य लिएको छ । बबईदेखि आयोजना स्थल सम्मको सड्क निर्माणको पहिलो चरणको काम सकिएपछि २ सय मिटर सुरुङ निर्माण गर्ने काम खुला भएको आयोजनाले जनाएको छ ।
सुर्खेतको लेखफर्सास्थित चिप्लेमा बाँध बाधेर भेरी नदीको पानीलाई चुरे पहाडभित्र १२ किलोमिटर लामो सुरुङ मार्गमार्फत बबई नदीमा मिसाएर सिचाइ र विद्युत उत्पादन गर्न आयोजना निर्माण थालिएको हो ।
करिब १७ वर्ष रुपैयाँ लाग्ने सो आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा १२ महिना सिचाइ सुविधा पुग्ने छ । करिब एक सय २५ किलोमिटर क्षेत्रमा सिंचाइ ग्रामीण सडक र विद्युतीकरणका काम समेत उक्त आयोजनाले गर्ने आयोजनाका प्रमुख बस्नेतले जानकारी दिए । आयोजनाले सुर्खेतका २२, सल्यानका ३ र बर्दियाको १ गाविसलाई समेट्ने छ ।
आयोजना निर्मायाका लागि सिंचाइ विभाग र चाइना ओभरसिज बीच २०७१ माघ १६ गत्ते ठेक्का सम्झौता भएको थियो । आयोजना निर्माणका लागि चालु आर्थिक वर्षमा सरकारले २ अर्व रुपैयाँ विनियोजन गरिसकेको छ ।
प्रतिसेकेण्ड ४० घनमिटर भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र यही पानीले बाँके, बर्दियाका जमीनमा सिंचाइ पु-याउने आयोजनाको लक्ष्य रहेको आयोजना प्रमुख वस्नेतले बताए । सरकारले आन्तरिक स्रोतबाट सुरुङ निर्माण गर्न लागेको यो नेपालकै पहिलो बहुउद्देश्यीय आयोजना हो ।
प्रकाशित मिति: ७ मंसिर २०७३, मंगलवार १७:१२