काठमाडौं, ७ मंसिर । सत्तारुढ र विपक्षी दल निकट १३ विद्यार्थी संगठनहरूले सांसदहरूको तलव, भत्ता वृद्धि भएको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेका छन् ।
काठमाडौंको बागबजारस्थित एमाले निकट अखिलको मुख्यालयमा मंगलबार बसेको १३ विद्यार्थी संगठनको बैठकले सांसदहरूको तलव वृद्धि भएकोमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको नेविसंघका अध्यक्ष नयनसिंह महरले जानकारी दिनुभयो ।
‘सांसदहरूले आफ्नो जिम्मेवारीबाट बिमुख भएर तलव, भत्ता र सेवा सुविधा आफै वृद्धि गरेकोमा १३ विद्यार्थी संगठनले विरोध गरेका छन्’, उहाँले भन्नुभयो, ‘त्यसको विरोधमा मंसिर ८ गते ३ बजे शान्तिबाटिकामा प्रदर्शन गर्ने निर्णय भएको छ ।
१३ विद्यार्थी संगठनहरूले सांसदहरूको तलव, भत्ता, सेवा र सुविधा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन चेतावनी दिएको छ । सो निर्णय फिर्ता नलिए सांसदहरूविरुद्ध सडक आन्दोलन गर्ने विद्यार्थी संगठनहरूको चेतावनी छ ।
बैठकमा कांग्रेस निकट नेविसंघ अध्यक्ष नैनसिंह महर, एमाले अखिलकी अध्यक्ष नवीना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङलगायत १३ विद्यार्थी संगठनहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: ७ मंसिर २०७३, मंगलवार १६:५५