काठमाडौं, ७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भातृ संगठनहरूले संविधान संशोधन नगर्न दवाव दिने भएका छन् । त्यसका लगि एमाले निकट युवा संघ र अनेरास्ववियूले विभिन्न कार्यक्रम गर्ने तयारी गरेका छन् ।
उनीहरूले संविधान संशोधन विरुद्ध बृहत गोष्ठीको आयोजना गर्ने तयारी गरिएको अखिलका नेता आरसी लामिछानेले जानकारी दिनुभयो ।
संविधान कार्यान्वयनको समयमा सरकार संविधान संशोधनमा लागेको भन्दै माउ पार्टी एमालेले पनि विरोध जनाइरहेका बेला भातृ संगठनहरुलाई पनि परिचालन गरेर सरकारलाई दवाव दिने तयारीमा एमाले देखिएको छ ।
काठमाडौंमा मंगलबार बिहान आयोजना गरिएको पत्रकार सम्मेलनमा युवा संघ नेपालका अध्यक्ष राजिव पहरीले जनताको अधिकार स्थापित गर्न बनेको नयाँ संविधानलाई जनताको हित विपरित संशोधनको प्रस्ताव संसदमा लैजाने कार्य देशविरुद्ध भएको दावी गर्नुभयो ।
पश्चिमा शक्तिको दवावमा कुनै दल वा व्यक्ति विशेषलाई खुशी बनाउन गरिने संविधान संशोधनले राष्ट्रमा द्वन्द्व निम्त्याउने भन्दै त्यसका विरुद्धमा युवा संघले सडकमा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
उहाँले संविधान संशोधनको विषयले अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव ओझेलमा परेको दावी गर्नुभयो ।
अनेरास्ववियु अध्यक्ष नवीना लामाले लामो संघर्ष र बलिदानको फलस्वरुप आएको संविधानलाई संशोधन गर्नु राष्ट्रहित विपरित रहेको भन्दै आन्दोलनमा जाने चेतावनी दिनुभयो ।
उहाँले संविधानको रक्षा र कार्यान्वयनका लागि सम्पूर्ण विद्यार्थी संठगन एक हुन आवश्यक रहेको बताउनुभयो ।
प्रकाशित मिति: ७ मंसिर २०७३, मंगलवार ११:५६