काठमाडौं, ६ मंसिर । संविधान संशोधनको विषयमा छलफल गर्न बोलाइएको तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेका नेताहरूलाई ‘अहंकारी’ भनेपछि बैठक एकाएक तात्तिएको छ ।
सत्तारुढ दलहरूका तर्फबाट तयार पारिएको चार बुँदे संशोधन प्रस्ताव प्रधानमन्त्री दाहालले सोमबार बेलुका बालुवाटारमा बसेको बैठकमा राखेपछि एमालेका नेताहरूले असहमति जनाउँदै राष्ट्रि र राष्ट्रियताका पक्षमा कुरा उठाएका थिए । त्यसपछि दाहालले एमालेका नेताहरूलाई ‘अहंकारी’ जस्तो व्यवहार नदेखाउनुस् भन्नेवित्तिकै बैठकको माहोल एकाएक तात्तिएको हो ।
सरकारले अगाडि सारेको प्रस्तावमा एमालेको समर्थन नहुने संकेत पाउनेवित्तिकै प्रधानमन्त्री दाहाल आबेगमा आएको स्रोतको भनाइ छ । त्यसपछि प्रधानमन्त्रीले ‘अहंकारी’ शब्द प्रयोग गर्नुभएको थियो । बैठकको तनाबपूर्ण अवस्थाले तत्काल तीन ठूला दलहरू मिलेर जाने अवस्था न्यून देखिएको छ ।
बैठकपछि सुरुमै एमालेका नेताहरू बैठक बसेको कोठबाट एकसाथ बाहिरिएका थिए । बाहिरिनेमा अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष भीमबहादुर रावल लगायतका नेताहरू रहेका थिए । एमालेका नेताहरू बैठकबाट बाहिरिने क्रममा खुसी थिएनन् । सबैको अनुहार मलिन थियो ।
पत्रकारहरूले बैठकका विषयमा जिज्ञासा राखेपछि एमालेका उपाध्यक्ष भीमबहादुर रावलले राष्ट्र र राष्ट्रहित विपरित आउने कुनै पनि प्रस्तावको पक्षमा जान नसकिने धारणा राखेको जानकारी दिनुभयो । मधेसी मोर्चाले सरकारले तयार पारेको भनिएको चार बुँदे संशोधनलाई नमान्ने जनाइ सकेको अवस्थामा प्रमुख दलहरू मिलेर संविधानको रक्षा र कार्यान्वयनमा एक जुट हुनुपर्ने रावलको भनाइ थियो ।
‘राष्ट्र र राष्ट्रियहित विपरित संशोधन प्रस्ताव मान्न सकिँदैन । त्यस विरुद्ध आउने कुनै पनि संशोधन प्रस्तावको विपक्षमा उभिने छौँ’, बैठकमा एमालेले राखेको धारणा सुनाउँदै रावलले भन्नुभयो, ‘निर्णय सुनाएपछि प्रधानमन्त्रीले एमालेका नेताहरूलाई ‘अहंकारी’ भन्नुभयो ।’
‘संशोधन प्रस्ताव राष्ट्र र राष्ट्रिय हित विपरित भए विपक्षमा उभिने एमालेको निर्णय हामीले बैठकमा राख्यौँ । हामीलाई ‘अहंकारी’ भनेर प्रधानमन्त्रीले भन्नुयो,’ एमाले उपाध्यक्ष रावलले बालुवाटारमा सञ्चारकर्मीलाई भन्नुभयो, ‘संविधान ल्याउँदा एमालेले सहकार्य गरेको कुरा हामीले सम्झायौं । हामी ‘अहंकारी’ होइनौँ भन्यौ । राष्ट्र र जनताको हितविपरित यदि हाम्रो सहमतिविना संशोधन प्रस्ताव आयो भने सडक र संसदमा अवरोध गर्छाैं । आन्दोलन गर्ने छौँ भनेका छौँ ।’
सीमाङ्कन, अंगीकृत नागरिकलाई अधिकार दिने विषयमा एमाले विपक्षमा रहेको भन्दै रावलले अघिल्लो पटक संविधान संशोधन भइसकेको प्रसंग कोट्याउँदै फेरि पनि मधेसी मोर्चाले संशोधन भए पनि नमान्ने दाबी गर्नुभयो ।
सरकारले संशोधन प्रस्ताव ल्यायो भने देश विखण्डन हुने चेतावनी दिँदै रावलले राष्ट्रियता र अखण्डताको हिसाबले पनि यो संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो ।
सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले एमालेले बैठकमा अर्कै पोजिशन देखाएको आरोप लगाउनुभयो । ‘उहाँहरूले आज अर्कै पोजिशन देखाउनुभयो । एमाले अध्यक्ष केपी ओलीले यसअघिको बैठकमा तपाईहरू संविधान संशोधन प्रस्ताव अगाडि बढाउनुस् । हामी प्रस्ताव हेरेर सहयोग गर्छाै भन्ने आश्वासन दिनु भएको थियो,’ पुनले भन्नुभयो, ‘तर, आज उहाँहरू ‘अहंकारी’ र ‘दम्भ’को रुपमा देखिनुभयो ।’ फेरि पनि एमालेसँग यस विषयमा कुराकानी हुने उहाँको भनाइ थियो ।
उपप्रधान एवं गृहमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधिले संविधान संशोधनमा एमालेले अहसयोग गर्ने कुरा बैठकमा उठाएको बताउनुभयो । ‘एमालेले असहयोग गर्ने कुरा गरेको छ । संशोधन प्रस्ताव कुनै हालतमा संसदमा पेस हुन्छ’, उहाँले भन्नुभयो, ‘हाम्रो मान्यता एमाले पनि सहमतिमा आउनुपर्छ भन्ने हो । यदि त्यसो नभएपनि अगाडि बढ्छौं । पर्सी मधेसी मोर्चासँग सहमति गरेर संशोधन प्रक्रिया अगाडि बढाउँछौं ।’
एमालेको व्यवहारले आफूहरूलाई आश्चर्य लागेको गृहमन्त्री निधिको भनाइ थियो । ‘एमालेको पनि सहयोग चाहन्थ्यौँ’, निधिले भन्नुभयो, ‘तर उहाँहरू संविधान संशोधन गर्ने कुरामा सकारात्मक देखिनु भएन । सीमाङ्कन, अंगीकृत नागरिकलाई अधिकार दिने, भाषा आयोगलगायतमा सकारात्मक रहनु भएन । एमाले समस्या समाधान गरेर निर्वाचन होस् भन्ने पक्षमा देखिएन ।’ निधिले चेतावनीपूर्ण भाषामा भन्नुभयो, ‘संशोधन प्रस्ताव अगाडि बढ्छ । माधेसी मोर्चासँग सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयन हुन्छ ।’
प्रमुख प्रतिपक्षी दल एमाले रिसाएर हिँडेपछि संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन निर्णायक भनिएको सोमबार राति बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन बनेको छ । जानकारहरूका अनुसार अब सहमतिको सम्भावना पनि लगभग सकिएको छ । एमालेको सहमतिविनै सरकारले संशोधन प्रस्ताव अगाडि बढाउनेछ । यदि त्यसो भयो भने विपक्ष दल एमाले र सत्तारुढ दलहरूवीच संसद र सडकमा आमनेसामने हुने अवस्था आउने पक्का भएको छ ।
प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार २०:४९