काठमाडौं, ६ मंसिर । भौतिक योजना, पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले हुलाकी राजमार्गको निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने स्पष्ट पारेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री लेखकले तराई मधेशका २० जिल्लामध्ये १५ जिल्लाका उत्तर–दक्षिण जोड्ने करिव ७ सय १ किलोमिटरको २४ मार्गहरूको निर्माण कार्यको लागि टेण्डर प्रक्रिया सुरु भएकोले अबको दुई तिन महिनाभित्रै दु्रत गतिमा निर्माण कार्य हुने बताए ।

उनले भने, ‘तराई मधेशमा विकासको गति अब अघि बढ्छ, सडक सञ्जाल भएमात्रै आर्थिक गतिविधि बढ्छ ।’ हुलाकी राजमार्ग अन्तर्गर्त बन्ने २४ मार्गहरूमध्ये १० वटा मार्ग भारतको अनुदानमा र बाँकी १४ वटा मार्गहरू नेपालको आन्तरिक स्रोतले नै निर्माण हुने मन्त्री लेखकले जानकारी दिए ।
करिव १८ अर्बको लागतमा बन्ने उक्त राजमार्गहरू भारतले ८ अर्ब अनुदान दिने पनि उनले जनाए ।
लेखकले पूर्व–पश्चिम हुलाकी राजमार्गको पनि डीपीआर अन्तिम चरणमा पुगेको बताए । करिब १२ सय किलोमिटरको राजमार्गको डीपीआर अन्तिम चरणमा पुगेकोले अब छिट्टै दोस्रो चरणको कार्य पनि सुरु हुने उनले जनाए ।
मन्त्री लेखकले नेपाल दुई ठूला विशाल छिमेकीहरुका बीचमा भएकोले दुवै देशसँग सडक सञ्जालले जोड्नको लागि पनि सडक सञ्जालको विस्तारमा विशेष ध्यान दिनुपर्ने बताउँदै भने, ‘सडक सञ्जाल र यातायातले उत्तर दक्षिण जोड्न सक्यौ भने नेपाल दुई ठूला देश भारत र चीनको हब बन्छ ।’
मन्त्री लेखकले काठमाडौं–तराई मधेश फाष्ट ट्रयाकको अस्पष्टता र अन्यौलता पनि अब हटेको दाबी गरे । उनले भने, ‘अब फाष्ट ट्रयाक निर्माणका सम्बन्धमा अब कुनै द्विविधा छैन, यसबारेमा मैले विशेष निर्णय गरेको छु, अब मन्त्रिपरिषदमा गएको छ ।’
मन्त्री लेखकले उत्तरी सीमा नाका पनि चाँडोभन्दा चाँडो खोल्नेबारे तयारी भैरहेको जानकारी दिए ।
प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार १६:२०