सुर्खेत, ६ मंसिर । निर्माणाधीन दलित छात्रावास अलपत्र परेको बर्षौं वितिसक्यो । भवन निर्माणका लागि बजेट अभावका कारण ८ वर्षदेखि अलपत्र अवस्थामा रहेको छात्रावास अहिले बटुवाले प्रयोग गर्ने शौचालय हुन थालेको छ ।
मध्यपश्चिम क्षेत्रबाट अध्ययनका लागि सुर्खेत आउने दलित छात्रछात्राका लागि निर्माण थालिएको भवनको लागत अनुमानित बजेट ५२ लाख रहेको सहरी विकास तथा भवन निर्माण डिजिन कार्यालय सुर्खेतले जनाएको छ । भवन निर्माणको जिम्मा लिएको मल्ल कन्ष्ट्रक्सन तथा पोख्रेल निर्माण कम्पनीले बजेट अभाव हुन थालेपछि काम रोकिएको कार्यालयले जनाएको छ ।
हालसम्म भवन निर्माणमा २९ लाख १० हजार रुपैयाँ खर्च भइसकेको कार्यालयका लेखा अधिकृत परशुराम पराजुलीले जनाएका छन् । पहिलो वर्षपछि भवनका लागि एक लाख आउने गरेकाले काम हुन नसकेको कार्यालय सुर्खेतले जनाएको छ । दलित छात्रावासका लागि बजेट आउन छाडेपछि निर्माणको काम अलपत्र परेको लेखा अधिकृत पराजुलीले बताए ।
अलपत्र परेको भवनका बारेमा दुई वर्षसम्म पनि कसैले सोध्न नआएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतका प्रमुख थम्वराज श्रेष्ठले बताए । भवन निर्माणमा सरोकारवालाहरुले चासो नदिँदा आवश्यक बजेट नआएको उनको भनाइ छ । अलपत्र रहेको दलित छात्रावास निर्माण पुरा गर्न थप ५० लाख भन्दा बढी बजेट आवश्यक पर्ने भएपनि कोही कसैले आवाज नउठाउँदा भवन निर्माण अलपत्र बन्न पुगेको उनले बताए ।
निर्माणको काम रोकिएपछि भवन जिर्ण बन्दै गएको छ । राज्यले दलित समुदायलाई उपेक्षा गरेका कारण दलित छात्रावसमा बजेट नदिएको दलित छात्रावास समितिका अध्यक्ष सरोज सोनामले बताए । निर्माणाधीन अवस्थामा रहेको भवन अहिले सडकमा हिड्ने बटुवाको शौचालय बन्दै गएको छ । भवन निर्माण कार्य पुरा गर्नका लागि विभिन्न निकायसँग बजेट माग गरिएपनि कसैले चासो नदिएको उनको गुनासो छ ।
दलित छात्रावासको निर्माण पुरा नभए पनि मर्मत सम्भार भनेर न्यून वजेट दिने गरेको छ । दलित जिल्ला समन्वय समितिका उपाध्यक्ष भिमबहादुर परियारले मर्मत सम्भार भनेर बजेट आउने गरेको थियो तर अहिले त्यो पनि आउन छोडेको बताए ।
निर्माणको पहिलो वर्ष जति बजेट आएपनि त्यस पछिका दिनहरुमा भने न्यून बजेट आउने गरे उनले बताए । उनका अनुसार सरकारले अहिले त्यहि न्यून बजेट दिन पनि छाडेको छ ।
छुवाछुतका कारण दलित विद्यार्थीहरुले भोग्नु परेको समस्या कारण दलित छात्रावस निर्माण गर्नका लागि दलित छात्रावास निर्माण गर्न लागिएको निर्माण समितिका पूर्व अध्यक्ष विमल नेपालीले बताए । उनले मध्यपश्चिमका दुर्गम क्षेत्रबाट उच्च शिक्षाका लागि आउने विद्यार्थीहरुको लागि निर्माण गर्न थालेपनि राज्यले आवश्यक बजेट नदिँदा जिर्ण बन्दै गएको गुनासो गरे ।
सरकार परिवर्तन भएपछि बनेको सरकारले पुरान योजनाहरुमा बजेट नदिने गरेका कारण सुर्खेतको दलित छात्रावासमा बजेट नपरेको आभास भएको उनले बताए । दलित छात्रावासका लागि पछिल्ला वर्षहरुमा १/२ लाख उपलब्ध गराउँदै आएपनि हाल भने दलित छात्रावास निर्माणका लागि भनेर बजेट नआएको उनले बताए ।
प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार १५:५६