कञ्चनपुर, ६ मंसिर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० जोगबुढा नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।
जोगबुढा नदीपारिको कुत्तियाकरभर क्षेत्रलाई जोडनका लागि झन्डै रु एक करोड बढीको लागतमा झोलुङ्गे पुल निर्माण हुने भएको हो । सो पुल निर्माणको जिम्मा बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुरले पाएको छ ।
प्रालिका कार्यकारी निर्देशक तिर्खाराम खड्काका अनुसार पुल निर्माणको कार्य १५ महिनाभित्रै पूरा गरिने छ । महाकाली नदी र जोगबुढा नदीले घेरिएको कुत्तियाकरभरका ४० बढी परिवार पुल नहुँदा डुङ्गामा जोखिम पूर्ण यात्रा गर्दै आएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पुल निर्माण गर्ने प्रतिबद्धता गरे बमोजिम पुल बन्न लागेको बताइएको छ ।
नगरपालिकामा आधारभूत मार्गदर्शन प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेन
कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा बस्ती विकास, सहरी योजना तथा भवन निर्माण आधारभूत मार्गदर्शन विपरीत भवन निर्माणको कार्य हुन थालेको छ ।
नगरपालिकाले मार्गदर्शन लागू गरे पनि प्रभावकारी रुपमा कार्यान्वयन नगर्दा मापदण्डअनुरुपका भवन निर्माण हुन नसकेका हुन । मार्गदर्शन र भवन संहिताअनुरुप भूकम्प प्रतिरोधी भवन निर्माणका लागि चार जनाले मात्रै नक्सापास गराएको नगरपालिकाका सब इन्जिनियर टेकेन्द्रप्रसाद भट्टले बताए ।
“नगरपालिका घोषणा हुनु अघि बिना मापदण्ड निर्माण गरिएका २७१ वटा घरको अभिलेखीकरणको कार्य गरेका छौँ” उनले भने । घर निर्माण गर्दा अनिर्वाय नक्सा स्वीकृत गराउनु पर्ने नियम लागू गरिएको भए पनि अधिकांशले नक्सापास नगरिकनै भवन निर्माण गरिरहेको पाएका छौँ नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले भने , “तोकिएको मापदण्ड विपरीत घर निर्माण गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ ।”
त्यस्तै नगरपालिका भित्र जग्गा प्लटिङ गर्दा आठ मिटर चौडाइको सडक, विद्युत्, खानेपानी, ढल निकास, टेलिफोन र खुला ठाउँको व्यवस्था प्लटिङ कर्ताले आफ्नै निजी लगानीमा अनिर्वाय गर्नुपर्ने व्यवस्था गरिएको छ । रासस