रसुवा ६ मंसिर । रसुवा जिल्लाको रसुवागढी सीमा नाकामा चीनतर्फ आकर्षक शैलीमा निर्माण गरिएको अध्यागमनको कार्यालय छ भने नेपालतर्फ सामान्य टिनको छानोमा राष्ट्रिय झण्डा फहराइरहेको छ । नेपालतर्फको कच्ची सडकको धुलोबाट बच्न नेपाली सुरक्षाकर्मी मास्क लगाएर सीमामा खटिएका हुन्छन् र निहुरिएर पस्नुपर्ने र थोरै मात्र बस्न मिल्ने अस्थायी टहरामा सुरक्षाकर्मीको कार्यालय सञ्चालन भइरहेको छ ।
चीनको केरुङबाट पेट्रोलियम पदार्थ र अन्य सामग्री नेपाल ल्याउने भनी बहुप्रचारित रसुवागढी खण्डको नेपालतर्फको सडकको अवस्था अत्यन्तै दयनीय छ । रसुवागढीबाट २४ किलोमिटर चीनतर्फ गएपछि मात्रै चीनको केरुङ पुगिन्छ ।
चीन सरकारले सिगात्सेबाट पाँच सय किलोमिटरको दूरीमा रहेको केरुङसम्म रेल ल्याउने योजना बनाएपछि नेपालीको ध्यान यही नाकातर्फ केन्द्रित छ ।
भोटेकोसीपारि रहेको चीनतर्फको पूर्वाधार तथा नेपालतर्फको पूर्वाधार हेर्दा सहजै अनुमान गर्न सकिन्छ, नेपाली राजनेताहरूको भनाइ यथार्थभन्दा कति टाढा छ भनेर ।
चीनतर्फ सामान लिन गएका कन्टेनरको लामो लाम हुन्छ, कन्टेनरहरू लाममा बसेपछि सडकबाट मोटरसाइकलसमेत छिर्न सक्दैनन् ।
डेढ वर्षअघि गएको भूकम्पबाट क्षतिग्रस्त सडकमा माथिबाट झरेका कन्टेनरभन्दा ठूला ढुङ्गा देखिन्छन् । एकतर्फी मात्रै सवारी चल्ने गरी खोलिएको सडकलाई फराकिलो बनाउने, सीमा नाका व्यवस्थित गर्नेतर्फ कुनै पहल नभएको खबर गोरखापत्र दैनिकमा छ ।
सडक स्थायी रूपमा चल्ने बनाउने सरकारी योजना त छ तर कहिले बन्ने हो, त्यो भने कसैलाई थाहा छैन । तीन महिनायता सडक निर्माण गर्ने वा सुधारका लागि कुनै प्रयास भएको छैन ।
यहाँको मुख्य समस्या सडकको दुरवस्था हो । नेपालको अध्यागमन कार्यालय भने सीमा क्षेत्रभन्दा केही तल टिम्बुरेमा पक्की भवनमा रहेको छ ।
प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार ०७:४८