रोल्पा, ५ मङ्सिर । महिला तथा बालबालिका कार्यालय रोल्पाले २०७०÷७१ देखि हालसम्म जिल्लाका सातजना हिंसापीडित महिलालाई लैङ्गिक हिंसा निवारण राहत कोष प्रदान गरेको जनाएको छ ।
विशेष गरी श्रीमान्सँग सम्बन्धविच्छेद गरेका महिला जसले दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका छन् वा आयस्रोतको कुनै माध्यम नभएका महिलालाई मात्र यो कोषबाट रकम प्रदान गरिने महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले जानकारी दिए ।
उनका अनुसार हिंसापीडित महिला न्यायको खोजीमा गाउँबाट कार्यालयसम्म आउँदाजाँदा लाग्ने यातायात खर्च, हिंसामा परेकै कारण लाग्ने आवश्यक औषधि उपचार तथा आय आर्जनका लागि मात्र यस कोषको रकम खर्च गर्न सकिने प्रावधान रहेको छ । हालसम्म स्वास्थ्य उपचार र आय आर्जनका लागि कोषबाट सातजनालाई रु ६४ हजार १७० प्रदान गरिएको कार्यालयले जनाएको छ ।
यता हिंसापीडित महिलाका अनुसार आफूहरु घरेलु हिंसाको सिकार बनेका बेला न्याय माग्नका लागि सदरमुकाम आउन जान र एक छाक खानका लागि पनि ठूलो समस्या झेल्नुपर्ने भएको हुँदा यो रकमले केही राहत हुने भए पनि पर्याप्त नभएको बताएका छन् ।
जिल्लामा ठूलो सङ्ख्याका महिला घरेलु हिंसाको सिकार बनिरहेको अवस्था छ । बाल विवाह, बहुविवाह, श्रीमान्ले मदिरा सेवन गरेर कुटपिट गर्नु तथा महिलालाई परिवारबाट शारीरिक तथा मानसिक रुपमा यातना दिनु आदि कारणबाट महिला प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हिंसाको सिकार बनिरहेको अवस्था छ ।
आचार्यले भने – “केही समयअघि श्रीमान् र बहिनीको कुटाइबाट सख्त घाइते बनेकी थबाङ, रोल्पाकी सुनकुमारी नेपालीको औषधि उपचारका लागि बैठक बसेर हामीले सो कोषबाट रु ३० हजार नगद सहयोग गर्ने निर्णय गरेका थियौँ तर उनको दुःखद निधन भएपछि सो कोषको रकम कोषमै रह्यो उनले दुःख प्रकट गर्दै भने।
कार्यालयको सो कोषमा हाल रु एक लाख पाँच हजार ३४० जम्मा रहेको आचार्यको भनाइ छ । जिल्लामा रहेका माथि उल्लिखित हिंसापीडित महिला कार्यालयको सम्पर्कमा आएमा राहतस्वरुप आवश्यकताअनुसार कोषको रकम प्रदान गर्न सकिने उहाँको बताउनु भयो । सो रकम महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट प्राप्त हुने गरेको छ । रासस