लमजुङ, ४ मङ्सिर । जिल्लामै पहिलो पटक आधुनिक प्रविधिसहित बेकरी उद्योग सञ्चालनमा आएका छन् ।
स्थानीय बजार र छिमेकी जिल्लामासमेत सेवा पुर्याउने लक्ष्यसहित सदरमुकाम बेँसीसहरमा यो उद्योग सञ्चालनमा आएको हो ।
‘हुलाकी इन्डष्ट्रिज प्राली’ नामक कम्पनी दर्ता गरी उद्योग सञ्चालन गरेका हुन् । स्थानीय चारजना व्यवसायीको संयुक्त लगानीमा स्थापना भएको सो उद्योगको सञ्चालन पुँजी रु दुई करोड रहेका छन् ।
उद्योगबाट विभिन्न प्रकारका बेकरी, कुकिज बिस्कुट र पप उत्पादन हुन्छ, मुख्य लगानीकर्ता एव्म सञ्चालक गुणराज सिलवालले भने –यसका लागि आवश्यक पर्ने कच्चा पदार्थको आपूर्तिमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइने नीति उद्योगको छ ।
“कोदो, फापर, गहुँलगायतका स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिन्छौ” उनले भने “अहिले बजारमा धेरै खाद्यपदार्थ सुगर फ्रि आउन थालेकाले हाम्रो उत्पादन पनि सुगर फ्रि हुनेछन् ।”
बेकरी उद्योग सञ्चालन भएपछि जिल्लामा स्वरोजगारको वातावरण सिर्जना भएको लमजुङ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष राजेश थापाले बताए । रासस