वीरगञ्ज, ४ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आन्दोलनरत मधेसी केन्द्रित दलका पर्साका जिल्लास्तरीय नेताहरूसंग भेटघाट गर्नुभएको छ ।
वीरगंजको होटल विश्वमा शनिबार भएको भेटवार्तामा संविधान संशोधनमा समेट्नुपर्ने विषयका बारेमा छलफल भएको बताइएको छ ।
पौडेलका सहयोगी चिरिञ्जीवी अधिकारीका अनुसार मधेसवादी नेताहरूले बरिष्ठ नेता पौडेललाई संविधान संशोधन गरेर चाँडै तराई मधेसको समस्या समाधान गर्नका लागि आग्रह गरेका थिए ।
उनीहरूले पहाडमा बस्ने नेपालीसंगभन्दा आफूहरूमा बढी राष्ट्रियताको भावना भएको भन्दै मधेसमा बस्ने नेपालीको राष्ट्रियतामा केही राजनीतिक दलले प्रश्न उठाएको गुनासो गरेका थिए ।
उनीहरूले नेपाल–भारत सीमामा आफूहरूले भारतीय सुरक्षाबलसंग लडाइँ गरेको स्मरण समेत गरेका थिए । भेटमा मधेसी नेताहरूले आफूहरूले मधेसमा आएको ठूला पार्टीका नेताहरूमध्ये पौडेललाई मात्र भेटेको भन्दै तराई मधेसको समस्या समाधान गर्ने आशामा आफूहरू आएको बताएका थिए ।
उनीहरू ठूला पार्टीका सवै नेताभन्दा पौडेलसंग मधेसको समस्या समाधान गर्ने चिन्तन भएको आशाले भेट्न आएको भन्दै समस्या समाधानको अग्रसता लिन समेत आग्रह गरेको बताइएको छ ।
पौडेलसंगको भेटमा संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष प्रदीप यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका मोहम्मद सालउद्दीन, सदभावना पार्टीका शिव पट्टेल लगायतका नेता सहभागी भएको बताइएको छ ।
प्रकाशित मिति: ४ मंसिर २०७३, शनिबार १०:१७