
– बिमला खड्का
सुर्खेत, ३ कात्तिक । भारत सरकारले ५ सय र १ हजार दरको नोटमा प्रतिबन्ध लगाएपछि सुर्खेतमा पनि यसको असर पर्न थालेको छ । सुर्खेतमा व्यापार व्यवसाय गर्नेहरुको लागि भारतबाट सामान आयात हुने हुँदा सुर्खेतका विशेषगरी व्यापारीलाई भारु नोटको असर पर्न थालेको हो । भारु नोटमा प्रतिबन्ध लगाएदेखि सुर्खेतमा भारु नोट सटहीका लागि बैंक धाउनेहरुको कुनै कमी छैन ।
अहिले भारु नोटको प्रतिबन्ध लगाइसकेपछि सुर्खेतमा यसको सटही कुनै बैंकले गरेको देखिदैन । । सुर्खेतका व्यापारी टेकबहादुर भण्डारी भन्छन् ‘सबै सामानहरु भारतबाट ल्याँउने हुँदा भारु नोटको कारोबार हुन्छ । अहिले यसको प्रतिबन्ध लगाएपछि त हामीलाई मात्रै नभएर सामान लिने र व्यापार व्यवसायीलाई नराम्रो असर गरेको छ ।’
व्यापारी भण्डारीका अनुसार भारु ५ सय र १ हजार दरको नोटमा नेपालगंजको राष्ट्र बैंकले सटही गर्ने संकेत नदेखाएपछि आफूहरुलाई निकै ठूलो असर परेको गुनासो गरे । उनका अनुसार व्यापार व्यवसायीहरुले विशेषगरी भारु ५ सय र १ हजार दरको नोटको कारोबार गर्ने भएको हुँदा पनि व्यापार व्यवसायलाई ठूलो धक्का लागेको बताए ।
यसैगरी अर्का व्यापार व्यवसायी धनबहादुर रावतले भारत सरकाले भारु ५ सय र १ हजार दरको नोटमा प्रतिबन्ध लगाएर सुर्खेतमा महँगी बढ्ने सम्भावना धेरै भएको बताए । उनले भने ‘भारतबाट ग्याँस ल्याउने गर्छाै त्यो पनि अहिले सम्म आइपुगेको छैन, साथै अन्य सामान पनि भारतबाट नै ल्याउने भएको हुँदा व्यापार नै उथलपुथल हुने अवस्था छ ।’ व्यसायी रावतका अनुसार भारत सरकारले प्रतिबन्ध लगाएको भारु नोटको सटही गर्नका लागि नेपाल सरकारले पहल गर्नु पर्ने बताए ।
उद्योग वाणिज्य संघ सुर्खेतका पूर्वअध्यक्ष पदम शाहीका अनुसार अहिले सुर्खेतमा धेरै जसो व्यापारीहरुको व्यापार धरासयमा पर्ने अवस्था आइसकेको बताएका छन् ।
उनका अनुसार सुर्खेतमा अहिले प्रत्येक व्यापारीहरुको गल्लामा भारु नोट हुने भएपनि यसको सटही नहुँदा धेरै असर परेको बताए । नेपाल सरकारले यसको अहिलेसम्म पनि कुनै व्यवस्था नगर्दा विशेषगरी व्यापार व्यवसायमा धेरै असर परीरहेको बताए ।
बैंकमा भारु नोट सटही गर्न धेरै आउने गरेको र भारु नोट सटही नगर्ने भएको हुँदा निराश भइ धेरै जना फर्कने गरेको बताउँछन् वाणिज्य बैंक सुर्खेत शाखा प्रबन्धक होताराम योगी । उनले भने, ‘अहिले जो जस्ले भारु ५ सय र १ हजार दरको नोट राखेका छन् त्यसलाई हम्मेहम्मे परेको अवस्था छ ।’
प्रकाशित मिति: ३ मंसिर २०७३, शुक्रबार १७:१८