धनगढी, ३ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेस केन्द्रित दलको सहमतिमा संविधान संशोधन भई कार्यान्वयनसमेत हुने विश्वास व्यक्त गरेका छन्।
काँग्रेस कैलालीद्वारा धनगढीमा आयोजित अभिनन्दन समारोहमा अभिनन्दन पत्र ग्रहण गर्दै नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः सिद्धराज भट्ट, धनगढी,रासस
उनको सम्मानमा नेपाली काँग्रेस कैलालीले बिहीबार यहाँ आयोजना गरेको अभिनन्दन कार्यक्रममा उनले भने – “संविधान संशोधनका बारेमा मैले आफैं मधेस केन्द्रित दलसँग वार्ता गरें, म, एमालेका अध्यक्ष र प्रधानमन्त्रीबीच यसबारे सकारात्मक वार्ता पनि भएको छ, अब समस्या समाधान हुन्छ ।”
सभापति देउवाले संविधान संशोधन भएर मुलुकमा स्थानीय, राष्ट्रिय र सङ्घीय चुनाव भई संविधान कार्यान्वयनको चरण पनि पूरा हुने बताउँदै “संविधान कार्यान्वयनसँगै सबै प्रकारका अन्योलता, शङ्का/उपशङ्का हट्ने छन् ।” भने ।
विकासका विषयमा आफूले बिगतमा बोलेका प्रतिबद्धता पूरा गरी छाड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले खुटियादेखि दिपायलसम्मको सडक, अत्तरियादेखि गौरीफन्टा सीमासम्म छ लेनको सडक र सहजपुरदेखि बोगटानसम्मको सडक निर्माण तथा मोहना नदी नियन्त्रणको काम पनि अघि बढाउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।
सभापति देउवाले पार्टीमा एकता जरुरी रहेको बताउँदै स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई विजयी बनाउन जनताको हृदय जितेर काम गर्न कार्यकर्तालाई निर्देशन पनि दिए ।
कार्यक्रममा काँग्रेस कैलालीका सभापति नरनारायण शाहले सभापति देउवालाई अभिनन्दन गरेका थिए । सुदूरपश्चिमबाट नेपाली काँग्रेसको केन्द्रीय सभापतिमा विजयी हुने देउवा पहिलो नेता हुन् । रासस