काठमाडौँ, ३० कात्तिक । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले नेपालमा बहुजाति तथा बहुभाषा, बहुधर्म र बहुसंस्कृति रहेकाले तीनको संरक्षण गरिनुपर्ने बताए ।
एमाले भातृ सङ्गठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको नयाँ नेतृत्वलाई स्वागत तथा शुभकामना दिन आज यहाँ आयोजित कार्यक्रममा उनले कुनै पनि जातिको बहुमत नरहेको र फरकफरक अल्पसङ््ख्यकको बाहुल्यता रहेको नेपालमा सबैको संस्कृतिलाई सबैले स्वीकार गर्नुपर्छ भने । मुलधारमा आउन नसकेका जाति तथा समुदायको पहिचान, प्रतिनिधित्व र पहँुचलाई कसरी प्रतिविम्बित गराउने भन्ने विषयमा देशलाई नेतृत्व गर्ने दलको समान धारणा हुनुपर्ने उनको भनाइ थियो ।
एमाले सचिव प्रदीप ज्ञवालीले सबै जातिकाबीच एकता तथा सहअस्तित्व र भाइचाराको विकास गर्नुपर्नेमा जोड दिए । अर्का सचिव गोकर्ण विष्टले नेतृत्वले समुदायमा भएका जातीय तथा भाषिक विभेदलाई न्यूनीकरण गर्नुपर्ने बताए ।
महासङ्घका नवनिर्वाचित अध्यक्ष पृथ्वी सुब्बा गुरुङ, महासङ्घ इन्चार्ज गोकुल घर्ती, पार्टीका नेता कृष्णगोपाल श्रेष्ठ र माधव पौडेलले संविधान कार्यान्वयनमा सङ्कट आइरहेका अवस्थामा महासङ्घले पार्टीका सिद्धान्तलाई जनमानसमा लैजान भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । रासस