बेलायतका वैज्ञानिकहरुले एउटा यस्तो युएसबी स्टिक अर्थात् सरल भाषामा पेन ड्राइभको विकास गरेका छन् जसमा रगत हालेर सजिलोसँग एचआइभी संक्रमणको परीक्षण गर्न सकिन्छ ।
बेलायतको लण्डनस्थित इम्पेरियल कलेजे तथा डिएनए इलेक्ट्रोनिक्सका वैज्ञानिकहरुले संयुक्त रुपमा यस्तो पेनड्राइभको आविष्कार गरेका हुन् ।
यो पेनड्राइभभित्र रगतको थोपा हालिसकेपछि पेनड्राइभलाई कम्प्युटर वा ल्यापटपमा घुसारेर एचआइभी वानको मात्रा पत्ता लगाउन सकिन्छ । यो डिभाइस एचआइभी संक्रमितहरुलाई आफ्नो उपचारमा निकै लाभदायक हुने अपेक्षा गरिएको छ ।
साइन्टिफिक जर्नल नामक एक जर्नलमा प्रकाशित रिपोर्ट अनुसार युएसबीद्धारा गरिने जाँच निकै सटिक छ र केवल आधा घण्टामै जाँचको नतिजा प्राप्त गर्न सकिन्छ । अहिले एचआइभी एड्सको परीक्षणका लागि उपलब्ध प्रयोगशाला परीक्षणबाट जाँचको नतिजा प्राप्त गर्न करीव ३ दिन लाग्छ ।
वैज्ञानिकहरुले यो पेनड्राइभमा ९ सय ९१ थरी रक्तनमूनाको परीक्षण गरेका थिए । जसमा ९५ प्रतिशत जाँचको नतिजा सही निस्कियो र नतिजा निस्किने औषत समय २१ मिनेट थियो ।
यो पेनड्राइभमा रगतका केही थोपा हालिन्छ । पेनड्राइभमा लगाइएको मोबाइल चिप ल्यापटप तथा कम्प्युटरसँग जोडिएर इलेक्ट्रोनिक सिग्नल पैदा गर्दछ र पेनड्राइभले एचआइभी भाइरस पत्ता लगाउँछ ।
वैज्ञानिकहरुका अनुसार एड्स पत्ता लगाउने यो पेनड्राइभले चिकित्सा क्षेत्रमा ठूलै क्रान्ति ल्याउनेछ ।
मेडिकल ल्याब नभएका दूरदराज तथा दुर्गम क्षेत्रहरुमा एड्सको परीक्षणका लागि यो पेनड्राइभले ठूलो सहयोग गर्नेछ ।
यद्यपि योे पेनड्राइभ प्रविधि अहिले निकै प्रारम्भिक अवस्थामा छ र यसलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याउन केही समय लाग्नेछ ।
प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलवार १०:४२