काठमाडौं, ३० कात्तिक । नेपाल विद्युत् प्राधिकरणले कुलेखानी विद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन नगरीकन तिहारपछि काठमाडौं उपत्यकामा लोडसेडिङ हटाएको छ ।
लक्ष्मीपूजाको दिनबाहेक त्यसपछिका कुनै पनि दिन कुलेखानी पूर्ण क्षमतामा नचलाइएको विद्युत् प्राधिकरणको तथ्यांक छ। गत वर्षको तुलनामा कुलेखानी क्षेत्रमा यस वर्ष कम पानी परेकाले पानीको सतहचाहिं कम रहेको प्राधिकरणले जनाएको छ । सञ्चित अवस्थामा रहेको कुलेखानीको पानी रित्याएर ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी चलाई प्राधिकरणले लोडसेडिङ हटाएको आरोप कतिपयले लगाउने गरेका छन् ।
विद्युत्को अत्यधिक माग हुने दिन अर्थात् लक्ष्मीपूजाको दिन मात्रै कुलेखानी पूर्ण क्षमतामा चलाइएको छ । त्यस दिन कुलेखानीको जलाशयमा पानीको सतह समुद्री सतहबाट एक हजार ५ सय २२ मिटर ३५ सेन्टिमिटर थियो । गत वर्ष १४ कात्तिकमा कुलेखानीमा १ हजार ५ सय २५ मिटर ६८ सेन्टिमिटर पानीको सतह थियो ।
लक्ष्मीपूजाको दिन कुलेखानी पहिलो र दोस्रो क्रमशः ५९.९० र ३०.५० मेगावाटमा चलाइएको प्राधिकरणले जनाएको छ । लक्ष्मीपूजाको दिन साँझ ६ बजेर २० मिनेटमा अत्यधिक विद्युत् माग (पिक) थियो । त्यस दिन १ हजार ४ सय ४४ मेगावाट विद्युत् माग थियो । कुलेखानीसहित आफ्ना विद्युत्गृहबाट ४ सय ५७ मेगावाट, निजी क्षेत्रको २ सय ४७ मेगावाट उत्पादन तथा भारतबाट २ सय ५३ मेगावाट आयात गरी आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ ।
बा“की लोडसेडिङ गरिएको थियो । प्राधिकरण र निजी क्षेत्रका विद्युत्गृहहरू अहिलेसम्म पूर्ण क्षमतामा चलिरहेका छन् । १ एक सय ४४ मेगावाट जडित क्षमता रहेको कालीगण्डकी ए विद्युत्गृहले अहिले १ सय ४७ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।
लक्ष्मीपूजाको दिन सो आयोजना १ सय ४९ मेगावाटमा चलेको थियो । कुलेखानी जलाशयमा पानी कम कुलेखानी गत वर्षजति नचलाइए पनि पानीको सतह भने घटेको प्राधिकरणले बताएको छ । ‘प्रणाली चलाउन मात्रै कुलेखानी चलाएका छौँ,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘हिउँदमा सुरक्षित रहने गरी मात्रै दैनिक करिब एक घन्टा मात्रै औसतमा ७–८ मेगावाट चलाएका छौँ ।’
शनिबार प्राधिकरणले कुलेखानी चलाएन । त्यस दिन साँझ ६ बजेर पाँच मिनेट जाँदा विद्युत्को पिक माग एक हजार २ सय ७१ मेगावाट थियो । यसलाई प्राधिकरणका विद्युत्गृहबाट ३ सय ५२ मेगावाट, निजी क्षेत्रबाट २ सय ६२ मेगावाट र भारतबाट २ सय ४७ मेगावाट आयात गरी आपूर्ति गरिएको थियो ।नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलवार ०७:२६