काठमाडौ ३० कात्तिक । नेपाली बजारमा ५ सय र १ हजार दरका करिब १५ अर्ब रुपैयाँबराबरका नोट रहेको अनुमान गरिएको छ । भारतले प्रतिबन्ध लगाएको यी दरका नोटहरू १५ अर्ब रुपैयाँबराबरको रहेको हुनसक्ने नेपाल राष्ट्र बैंकले प्रारम्भिक अनुमान गरेको हो ।
राष्ट्र बैंकका विदेशी विनिमय तथा अनुसन्धान विभागका बहालवाला र अवकाशप्राप्त कर्मचारीहरूले यस्तो अनुमान गरेका हुन् । उनीहरूका अनुसार भुक्तानीमा ठूलो मात्रामा भारु प्रयोग हुने भएकाले बजारमा १० देखि १५ अर्ब रुपैयाँबराबरको ५ सय र १ हजार दरका नोट छन् ।
राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डित आधिकारिक तथ्यांक भने नहुने बताउँछन् । “कति परिमाणको भारु नेपाली बजारमा छ त्यो भन्न सकिँदैन,” उनले भने, “रोजगारीमा जानेहरू दसैंमा आउने हुँदा उनीहरूले भारु ल्याएका हुन सक्छन् । यस्तै दुईतिहाइ व्यापार भारतसँग हुने भएकाले पनि बैंकिङ प्रणालीभन्दा बाहिर नै भारु रहेको भएको भन्न सकिन्छ ।”
राष्ट्र बैंकको विदेशी विनिमय विभागबाट अवकाश पाएका पूर्वनिर्देशक कल्याणबन्धु अधिकारी नेपाली बजारमा १० देखि १५ अर्ब रुपैयाँबराबरको भारु भएको अनुमान गर्न सकिने बताउँछन् ।
“केन्द्रीय बैंकले अहिलेसम्म यसमा औपचारिक अध्ययन भने गरेको छैन,” अधिकारी भन्छन्, “नेपालमा भुक्तानीका लागि भारुको ठूलो मात्रामा प्रयोग हुने गरेको छ ।”
राष्ट्र बैंकले अहिले तीन खर्ब रुपैयाँको नेपाली नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकका अधिकारीहरूका अनुसार नेपाली बजारमा चलनचल्तीमा रहेको नोटको ३० प्रतिशत हाराहारीमा भारतीय नोट रहने गरेको छ । यस आधारमा हेर्दा ३० अर्ब रुपैयाँ भारु नेपाली बजारमा रहेको देखिन्छ ।
भारतले दुई वर्ष अगाडि प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि नेपाली बजारमा रहेको ५ सय र १ हजार दरमा लगाएको प्रतिबन्ध हटाएर २५ हजारसम्म बोक्न पाउने व्यवस्था गरेको थियो ।कारोबार दैनिकमा खबर छ ।
“प्रतिबन्ध लागेको समयमा पनि नेपाली बजारमा खुल्ला रूपमा ५ सय र १ हजारको नोटको प्रयोग हुने गरेको थियो,” राष्ट्र बैंकका पूर्वनिर्देशक अधिकारीले भने, “भारतीय मुद्राको जहिले पनि नेपालमा अभाव हुने हुँदा ठूलो मात्रामा व्यापारीदेखि अनौपचारिक कारोबार गर्नेहरूले भारु होल्ड गर्ने गरेका थिए ।”
खासगरी व्यापारीहरूले आयात गर्दा एलसी खोल्ने र सटही सुविधा लिने तर त्यो अनुपातमा सामान भने नभित्र्याउने गर्छन् । भारुको माग अत्याधिक हुने हुँदा यसरी व्यापारीहरूले होल्ड गरेको भारुबाट अत्याधिक फाइदा लिने गरेका थिए ।
अनौपचारिक बजारमा १ सय भारुको दसैं र तिहारबाहेक अन्य समयमा १ सय ६५ रुपैयाँसम्ममा खरिद बिक्री हुने गरेको थियो । कुनै समय १ सय ७० सम्म यसरी भारु खरिद बिक्री हुने गरेको थियो ।
भारत सरकारले ५ सय र १ हजार दरको नोटमा प्रतिबन्ध नलगाउँदासम्म राष्ट्र बैंकमा आउने गुनासोमा ५० प्रतिशत गुनासो सहज रूपमा भारतीय मुद्रा नपाएकोमा हुने गरेको थियो ।
“५ सय र १ हजार दरको भारुमा प्रतिबन्ध लाग्नासाथ एकैपटक सबैसँग भारु मौज्दातको जानकारी आएको छ,” राष्ट्र बैंकका एक अधिकारीले भने, “वाणिज्य बैंकहरूले दिएको विवरणले पनि बैंकहरूले अनावश्यक रुपमा भारु मौज्जात गरेको देखियो ।”
राष्ट्र बैंकका अधिकारीहरूका अनुसार एकजनाले २५ हजार भारु सटही गर्नका लागि भारत सरकारले अनुमति दिए पनि खुला सिमानाको कारण भारतबाट आउने भारु नसाट्ने ग्यारेन्टी खोजेको देखिएको छ ।
“भारत सरकारसँग सम्झौता भएपछि नेपालले एकजनाले २५ हजार भारुसम्म ५ सय र १ हजार दरको नोट बोक्न अनुमति दिएको हो,” राष्ट्र बैंकका एक अधिकारीले भने, “भारतले आफ्नो देशका नागरिकको भारु यसरी नेपालबाट नसाटियोस् भन्न खोजेको देखिन्छ ।”
भारत सरकारले ५ सय र १ हजार दरको नोटमा प्रतिबन्ध लगाएपछि अहिले यस्तो दरका नोटहरू बैंक तथा हुलाकबाट चार हजारसम्म मात्र सटही गर्ने अनुमति दिएको छ ।
प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलवार ०७:२१