कात्तिक २९, सुर्खेत ।
नेपालको पूर्वी तथा मध्य तराईका विभिन्न भागमा एडिज जातकाे लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने एक प्रकारको भाइरसको संक्रमणबाट फैलने रोग डेंगुको सुर्खेतमा पनि उत्तिकै जोखिम देखिएको छ । पछिल्लो पटक सुर्खेतमा पनि यस्ता रोगका विरामी भेटिएको जिल्ला जन स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ । सुर्खेतमा अहिलेसम्म ८ जनालाई डेंगु देखिएको र यस्ता विरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको जन स्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।
दैनिकजसो बिरामी बढेको खबर सार्वजनिक भएसँगै उपत्यका मात्रै नभई सुर्खेतबासीहरु समेत त्रसित बन्दै आएका छन् । तर अहिलेसम्म भेटिएका विरामीको सुर्खेतमा उपचार हुन नसकेको जिल्ला अस्पताल सुर्खेतका सुचना अधिकृत बसन्तमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार क्षेत्रीय अस्पतालमा समेत यस्ता विरामीको रगत जाच्ने सुविधा पनि छैन । जिल्ला जनस्वास्थ्य कार्यालय पनि यसको रोकथामका लागि खासै अभियान शुरु गर्न नसकेको उनले बताए । सरकारी अस्पतालमा पर्याप्त उपचार व्यवस्था नहुँदा सर्व साधारण निजी अस्पताल धाएर महँगोमा उपचार गर्न बाध्य हुनुका साथै रोग पत्ता लगाउँनकै लागि नेपालगञ्ज, काठमाडौ र लखनउ जान बाध्य भएका छन् ।
सुर्खेतमा सर्वसाधारण नागरिकमा मात्रै नभई चिकित्सकहरूमा पनि डेंगुको संक्रमण देखिएको छ । सुर्खेतमा दशरथपुर गाविसको सिमले गाउँमा अन्य गाविसको भन्दा बढी संक्रमित भएको हुन सक्ने कार्यालयले अनुमान गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याकं अनुसार सुर्खेतमा अहिलेसम्म ८ जनामा यस्ता संक्रमण देखिएको छ । जसमा वीरेन्द्रनगर नगरपालिकामा २ जना, गुमी र दशरथपुरमा १/१ जनाका साथै अन्य केही गाविसमामा गरी यतिका संक्रमित भेटिएको सुचना अधिकृत श्रेष्ठले जानकारी दिए । अहिलेसम्म नेपालमा १ हजार जनामा यस्तो संक्रमण देखिएको आईतबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा सुचना अधिकृत श्रेष्ठले बताए ।
स्वास्थ्यम मन्त्रालयले तराईका केही जिल्लालाई मात्रै डेंगुको जोखिममा रहेको बताएपनि पछिल्लो समय यो रोगले सुर्खेत लगायतका पहाडी जिल्लामा पनि आक्रमण गर्दै आईरहेको छ । डेंगु रोग तराईमा मात्रै नभई पछिल्लो समयमा पहाड चढ्दै गरेको कारण यसको संक्रमणबाट जोगिनका लागि सबैले ध्यान दिनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख बसन्त अधिकारीले सबैलाई आग्रह समेत गरेका छन् । सुर्खेत पनि डेंगुको जोखिममा रहेको भन्दै कार्यालयले तत्कालै सचेतनामूलक कार्यक्रम गर्ने योजना बनाएको जानकारी दिदै कार्यालय प्रमुख अधिकारीले यस अभियानका लागि सबैको सहयोगको जरुरी रहेको बताए ।
प्रयोगपछी फालिएका वा राखिएका टायर, गमला, शिशा, अन्य भाँडाकुँडा, एअरकुलर, टिनका बट्टा, पानी टंकी वा ड्रम, प्लास्टिकका चिया खाने कपमा रहेको पानीमा लामखुट्टे हुर्कने भएकाले यस्ता बस्तुमा पानी जम्न नदिन उनले सबैलाई अनुरोध समेत गरेका छन् । घरभित्र रहेको कुलर, गमला, पानी राख्ने ड्रम, सिसी लगायतमा संक्रमित लार्भा भेटिने गरेको स्वास्थ्यकर्मी बताउँछन् । एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु मानिसमा सर्ने गरेको उनले जानकारी दिए ।
प्रकाशित मिति: २९ कार्तिक २०७३, सोमबार ११:३३