काठमाडौँँ, २९ कात्तिक । सम्भवतः संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको जोखिमयुक्त इम्जा तालको जोखिम न्यूनीकरण गर्ने कार्यमा नेपाली सेनाले सफलता हासिल गरेपछि यो ताल जोखिममुक्त भएको छ । फलस्वरूप तालमा बढी भएको पानी सहज निकास गरिएको छ ।
यो ताल फुटेमा सोलुखुम्बुदेखि १५० किलोमिटर
तलसम्मका आधा दर्जन पहाड र तराईका जिल्लासम्म धनजनको क्षति पु-याउन सक्ने अध्ययनले देखाएको थियो ।
समुद्र सतहदेखि पाँच हजार १० मिटरको उचाइमा सोलुखुम्बुमा रहेको हिमतालको जोखिम न्यूनीकरण गर्ने काममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि ठेकेदार कम्पनीले आँट गर्न नसकेपछि सरकारले यसको जिम्मा नेपाली सेनालाई दिएको थियो ।
इम्जा तालमा कुल सात करोड घनमिटर पानी रहेकोमा हाल ४० लाख घनमिटर पानी निकास गरिसकिएको छ । अब तालमा छ करोड ६० लाख घनमिटर पानी मात्र छ ।
जल तथा मौसम विज्ञान विभाग महानिर्देशक डा. ऋषिराम शर्माले भने “तालको कमजोर र फुट्न, भत्किन सक्ने सम्भावना रहेको भूभागभन्दा तलसम्म पानीको सतह पुगिसकेको छ । इम्जाको जोखिम न्यूनीकरण गर्न सफलता मिलेको छ । ”
नेपाली सेनाका इन्जिनियरिङ विभागका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँडले बताए, “नेपाली सेनालाई इम्जाको जोखिम न्यूनीकरण गर्ने काम एकदमै नयाँ र चुनौतीपूर्ण थियो ।
ठूलो मिहिनेत र कुशल व्यवस्थापनका कारणले इम्जामा हामी सफल भएका छौँ । छोटो समयमा सेनाले यो सफलता हासिल गरेको हो । यस अवधिसम्म काम नसकेको भए उच्च हिमाली क्षेत्रमा काम गर्न निकै कठिन हुने थियो । ”
सेनाले हिउँ पर्ने मौसम सुरु हुनुअघि नै यो काम सम्पन्न गरेको छ ।
इम्जाको पानी निकासका लागि सेनाले स्थायी भौतिक संरचना पानी निकास च्यानल, ताल वरिपरि पक्की संरचना समेत निर्माण गरेको छ ।
अब ठूलै विस्फोट वा भवितव्य भएन भने इम्जा तालको पानीले खासै असर पार्न नसक्ने अवस्था सिर्जना भएको छ ।
हिउँ पग्लेर पानी बढ्दै जाने भएकाले बढेको पानी निरन्तर रूपमा निकास गर्नलाई सेनाले स्थायी प्रकृतिको निकास प्रणाली विकास गरिसकेको छ ।
उपरथी खाँडका अनुसार विपत् आइसकेपछिको व्यवस्थापनमा नेपाली सेनाले यसअघि लामो अनुभव बटुले पनि विपत्अघिको जोखिम न्यूनीकरणमा खासै अनुभव थिएन । उहाँले भन्नुभयो, ‘इम्जाको सफलतापछि नेपाली सेना डिजास्टर मिटिगेसन गर्ने काममा पनि सफल भएको छ । आगामी दिनमा सेनालाई अरू स्थानमा काम गर्न सजिलो हुने भएको छ । ’
छिनमै बादलले ढाक्ने, पानीको सट्टा हिउँ पर्ने, जोरसँग हावाहुरी चल्ने लगायत समस्याले दिनभर काम गर्न नसकिने अवस्थामा समेत नेपाली सेनाले बिहानको छोटो अवधिमा काम गरेर भए पनि निर्धारित समयमा काम सम्पन्न गरेको छ ।
सेनाले अत्याधुनिक हेलिकोप्टरको सहायताले पानी निकासका लागि च्यानल निर्माण गर्न आवश्यक मेसिन, उपकरण र कच्चा पदार्थ पु¥याएको थियो ।
तालको जोखिम न्यूनीकरण गर्न र प्रभावित क्षेत्रमा नदी नियन्त्रण, बाढी तथा प्राकृतिक प्रकोपका लागि पूर्व सूचना प्रणालीको विकास, प्रभावित क्षेत्रमा वासिन्दालाई विपत्बाट बच्न उपाय र सचेतना अभिवृद्धि गर्न सरकारले जल तथा मौसम विज्ञान विभागअन्तर्गत समुदायमा आधारित बाढी तथा हिमताल विस्फोट जोखिम न्यूनीकरण आयोजना नै सञ्चालनमा ल्याएको छ । सो आयोजनाको आर्थिक सहयोगमा सेनाले यो कार्य सम्पन्न गरेको हो ।
आयोजनाले इम्जा हिमताल रहेको सोलुखुम्बु जिल्लाका एक दर्जन बस्तीमा र तल्लो तटीय क्षेत्र उदयपुर, सिराहा, सप्तरी र महोत्तरीका नदी प्रणालीमा काम गरिरहेको छ ।
आयोजना राष्ट्रिय प्रबन्धक टोपबहादुर खत्रीले भन्नुभयो, ‘यो ताल हिन्दकुश हिमालय क्षेत्रमा पर्ने जोखिमयुक्त हिमतालहरूमध्ये सबैभन्दा बढी जोखिमयुक्त थियो । यसले १५० किलोमिटर तल्लो क्षेत्रसम्म असर पार्न सक्ने भएकाले सोलुखुम्बुदेखि तराईका जिल्लासम्म काम गर्न थालिएको हो ।
सोलुखुम्बुका तीन गाविस र तराईका चार जिल्लाका आठ गाविस र नदी प्रणालीमा काम गरिरहेका छौँ । ’ गोरखापत्र दैनिकमा खबर छ ।
प्रकाशित मिति: २९ कार्तिक २०७३, सोमबार ०७:०६