काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयमा मुख्य तीन दलको सहमति खोज्ने प्रयास जारी राखेका छन् । प्रतिपक्षी एमालेसँग नै सहमतिको प्रयास सफल भएको छैन । कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता बसेर शनिबार समीक्षासहित सहमति प्रयास गर्ने भने पनि बैठक बस्न सकेन ।
तर, प्रचण्डले सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवासँग भने छलफल गरेका छन् । संशोधनका अप्ठ्याराहरू फुकाउन एमालेलाई कसरी मनाउने भन्नेमा केन्द्रित रहेर दुई नेताबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
छलफलमा एमाले संशोधनमा झन् टाढा हुँदै गएको आशंका उनीहरूको छ । एमालेलाई सहमतिमा ल्याउन प्रधानमन्त्री र देउवाले अलग–अलग प्रयास पनि जारी राख्ने र सामूहिक छलफल पनि गर्ने योजनाका साथ केही दिनयता भेटघाट भइरहेका छन् । संशोधन गर्न संसद्मा दुईतिहाइ मत आवश्यक पर्छ ।
एमालेको साथविना सत्तारूढ दललाई संशोधन प्रस्तावमा दुईतिहाइ मत पुर्याउन कठिन हुन्छ । सोही कारण संशोधन प्रस्तावको मस्यौदा तयार पारिसके पनि सरकारले संसद्मा विधेयक दर्ता गराएको छैन । नयाँ पत्रिका दैनिकमा खबर छ ।
तपाईंले अलि ‘मुभ’ गर्नुपर्यो
प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवालाई ओलीसँग सहमति खोज्न अझै बढी सक्रिय हुन आग्रह गरेका छन् । प्रमुख तीन दलबीच प्रदेशको सीमांकनका विषयमा विवाद यथावत् छ । देउवा भने कतै न कतै सहमति खोजेरै जानुपर्ने पक्षमा देखिएका छन् ।
‘मधेसी मोर्चा पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म एउटा प्रदेश बनाउनुपर्छ भनिरहेकै छ, संविधान निर्माणका क्रममा यस विषयमा हामीले पनि नोट अफ डिसेन्ट लेखेकै हो, कांग्रेस–एमालेले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा बुझाएको नौबु“दे प्रस्तावका पेरिफेरीमा रहेर सीमांकन मिलाऊँ,’ देउवासँग प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहाकार गोविन्द आचार्यले भने, ‘तपाईंले त्यसका लागि मुभ गर्नुपर्यो ?’
ओलीसँग अझै छलफल गर्ने
एमाले सहमतिमै आउन नचाहेको भए पनि दबाब बढाउनुपर्नेमा प्रधानमन्त्री प्रचण्ड र देउवा सहमत छन् । यसका लागि फेरि दुवै नेताले ओलीसँग छलफल गर्नुपर्ने निष्कर्ष निकालेका छन् । प्रचण्डका प्रेस सल्लाहाकार गोविन्द आचार्यले भने, ‘अझै ओलीजीसँग छलफल गरौं दुवै पार्टीका शीर्ष नेताले भन्नुभएको छ ।’
३० कात्तिकसम्म संशोधन प्रस्ताव दर्ता गर्ने तयारी
प्रधानमन्त्री र देउवाबीच एमाले अब सहमतिमा नआए पनि संविधान संशोधन प्रस्ताव भने दर्ता गरेरै जाने सहमति भएको छ । ३० कात्तिकभित्रै संशोधन प्रस्ताव दर्ता गर्ने विषयमा दुई नेताको छलफल केन्द्रित थियो । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले ३० कात्तिकसम्म संविधान संशोधन प्रस्ताव दर्ता गराउने विषयमा प्रधानमन्त्री र कांग्रेस सभापतिबीच छलफल भएको जानकारी दिए । ‘प्रधानमन्त्री र सभापतिजीले एमाले अध्यक्ष केपी ओलीसँग गरेको छुट्टाछुट्टै वार्ताबारे एक अर्कोलाई सेयर गर्नुभयो । दुवैले ओलीजीसँगको छलफल सकारात्मक भएको बताउनुभएको छ,’ निधिले नयाँ पत्रिकासँग भने, ‘यही वेला कांग्रेसको तरुण दलको महाधिवेशन भइरहेको छ । यसले गर्दा एक–दुई दिन ढिलाइ हुन सक्छ । नत्र ३० कात्तिकभित्र संविधान संशोधनका विषयमा प्रस्ताव दर्ता गराउने समझदारी र तयारी छ ।’
प्रकाशित मिति: २८ कार्तिक २०७३, आईतवार ०७:२०