काठमाडौं २७ कात्तिक । चर्चित टेलिभिजन बाल कार्यक्रम खुशीको संसारले आफ्नो नयाँ कार्टुन पात्र सुपरबुकको नाममा ‘सुपरबुक राष्ट्रव्यापी चित्रकला प्रतियोगिता’ गर्ने भएको छ । ‘बालश्रम होइन परिवारको आधारः शिक्षा नै हो बाल अधिकार’ शिर्षकमा चित्रकला प्रतियोगितामा आयोजना गरिन लागेको हो ।
बालबालिकाहरूमाझ विगत दश वर्षदेखि श्रव्यदृष्यको माध्यमद्वारा नैतिक मूल्य र मान्यता चेतना जीवन जिउने कला तथा स्वस्थ मनोरञ्जझन उपलब्ध गराउँदै आएको लोकप्रिय बाल कार्यक्रम खुशीको संसारका निर्माता प्रमिस प्रोडक्सन्स प्रालिले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी हुन पाउने प्रमिस प्रोडक्सन्स प्रालिका कार्यक्रम संयोजक आशिष रिजालले जनाएका छन् । कार्यक्रम अन्तर्गत पहिलो चरणमा ललितपुर, दाङ, कञ्चनपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाका विद्यालयका विद्यार्थीहरूबीच विभिन्न तहगत रुपमा प्रतियोगिता आयोजना हुने संयोजक रिजालले जनाए । जसअनुसार कक्षा १ देखि कक्षा ३ सम्म प्राथमिक, कक्षा ४ देखि कक्षा ७ सम्म माध्यमिक, कक्षा ८ देखि कक्षा १२ सम्म उच्च माध्यमिक समूह रहनेछ ।
चित्रकला मौलिक र सिजैनात्मक हुनुपर्ने, डिजिटल साधन प्रयोग गर्न नपाइने, एक व्यक्तिले एक मात्र चित्र पठाउन पाइने लगायतका प्रावधान आयोजकले राखेको छ । प्रतियोगितामा थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल), थिएटर मल नाटकघर, प्यावसन लगायतको सहकार्य रहेको छ ।
प्रतियोगी चित्रकला २०७३ मङ्सिर २५ गते प्रमिस प्रडक्सन्स् प्रा. लि. को कार्यालयमा आइपुग्नु्पर्नेछ । प्रतियोगिताको नतिजा २०७३ पौष २ गते सार्वजनिक गरिनेछ । यस प्रतियोगितमा सहभागी हुन कुनै शुल्क नलाग्ने आयोजक संस्थाले जनाएको छ । निर्णायक मण्डलद्वारा सर्वोत्कृष्ट घोषित प्रतियोगीलाई छात्रवृत्तिका साथै अन्य उपहारको पनि व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: २७ कार्तिक २०७३, शनिबार १९:३२