म्याग्दी, २७ कात्तिक । अनुकूल वातावरणको अभावमा म्याग्दीका कृषकले स्थानीय घैया जातको धानखेती गर्न छाडेका छन् ।
भिरालो पाखामा पनि सिँचाइबिना खेती गर्न सकिने घैया धान लगाउन छाडेपछि यो जातको धान लोप हुने अवस्थामा पुगेको छ ।
अनुकूल वातावरणको अभावमा यहाँका कृषकले घैया जातको धानखेती गर्न छाडेको जिल्लामा एक दशकदेखि वातावरण र जैविक क्षेत्रको अध्ययनमा सक्रिय रहँदै आएका चन्द्रमणि सापकोटाले बताए ।
सापकोटाका अनुसार कृषकले म्याग्दीको जैविक विविधतासँग जोडिएको घैयाखेती हुने जमिनमा कोदो, मकैजस्ता बाली लगाउन थालेका छन् । जिल्लाको गुर्जा, मुना, लुलाङ, मुदी, मराङ, कुईने, पाखापानी, दाना, चिमखोलालगायतका गाविसमा घैया धानखेती हुन्थें तर अचेल यो जातको धान खेती हुन छाडेको स्थानीयवासीको दाबी छ ।
पहिले घैया धानखेती हुने उच्च पहाडी क्षेत्रका सयाैँ रोपनी खेतबारी अहिले बाँझै भएको दानाका कृषक बेलबहादुर पुर्जाले बताए ।
‘विगत तीन वर्षयता घैया धान उत्पादननै हुन छाडेको छ’ पुर्जाले भने “कसैले कोदो त कसैले मकैखेती गरेका छन् भने अधिकांश जमिन गौचरनमा परिणत भएको छ ।”
कृषि प्राविधिकका अनुसार समयमै वर्षा नहुने र बढ्दो तापक्रमका कारण अनुकूल वातावरणको अभावमा स्थानीय जातका खेतीबाली उत्पादनमा असर परेको हो ।
घैया धान जेठमा रोपेर कात्तिक र मङ्सिरमा भित्र्याउने गरिन्छ । पौस्टिक तत्वको मात्रा अधिक हुने घैया धानलाई स्थानीयवासीले औषधिको रूपमा पनि प्रयोग गर्छन् । रासस