काठमाडौ २७ कात्तिक । नेपाली कांग्रेसलाई साथ लिएर र एमालेलाई चिढ्याएर प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अहिले तनाव सुरु भएको छ ।
सरकार गठन भएको एक सय दिन पुरा गरिसकेका प्रधानमन्त्री दाहालले संविधान प्रति असन्तुष्टि राख्दै आन्दोलनमा उत्रिएको मधेसी मोर्चाको माग संवोधन गर्ने विषय निल्नु न ओकल्नु भएको हो ।
सरकार हनिमुन पिरियडमा रहेकाले केही नगरेको मोर्चाले पनि अब यही मसान्त भित्र संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता नभए आफूहरुले सरकार गठनका बेला दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।
मधेसी मोर्चाको धम्की एकातिर छ भने आफूले चिढ्याएको एमालेको समर्थन विना संविधान संसोधनको प्रस्ताव संसदमा पेश गरेर पनि केही हुँदैन ।
त्यसैले सरकारका उपलव्धी बारे सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेनलमा उनले भनेका थिए संविधान संसोधनको प्रस्ताव यसै महिना भित्र दर्ता हुन्छ ।
तर उनले भन्दै गर्दा एमालेको प्रशंगलाई यसरी कोट्याएका थिए, जसलाई अविश्वास गर्ने ठाउँ प्रशस्त छ । सुरुमा वार्ता हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनमा सहमति मात्रै भनेका थिए, यसलाई अर्थ लगाउने हो भने सहमति छ की छैन भन्ने विषय जन्माउन सक्छ ।
फेरि पछिल्लो समय एमाले नेतृत्वले संविधान संशोधनको विषयलाई त्यति सिरियसरुपमा नलिँदा अहिले फेरि प्रधानमन्त्री प्रचण्ड थप अप्ठेरोमा परेका छन् ।
त्यही अप्ठेरो फुकाएर आफ्नो सरकारको आयु लम्बाउन प्रधानमन्त्रीले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । संसदमा अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध प्रस्ताव पेश गर्दा कांग्रेससँग सल्लाहनै नगरी एमालेसँग मिले पनि संविधान संसोधनको विषयमा एमाले किन यति रिजिक्ट बुझ्न नसकिने विषय भएको छ ।
संविधान संसोधनको विषयमा आज पनि प्रधानमन्त्री प्रचण्डले आफ्नै सत्ता सहयात्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई भेटेर कुराकानी गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संविधान संशोधनको प्रस्तावको मुख्य विषय सीमाङ्कन हेरफेरमा छलफल थियो भने यसअघि हिजो देउवाले एमाले अध्यक्ष ओलीसँग गरेको छलफलबारे व्रिफ गरेका थिए ।
देउवासँगको छलफल पछि धानमन्त्री दाहालले प्रमुख प्रतिपक्षदल नेकपा एमालेसंग छलफल गर्ने तयारी गरेका छन् । एमालेसंगको छलफल गर्ने समय र स्थान भने तय भएको छैन् ।
प्रकाशित मिति: २७ कार्तिक २०७३, शनिबार १४:२८