काठमाडौं, २६ कात्तिक । नेपाली कांग्रेस र तत्कालिन प्रजातान्त्रीक कांग्रेसका बीचमा एकिकरण भएपछि एक दशकपछि महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ । महाधिवेशन उदघाटनको अघिल्लो दिन सम्मपनि तरुण दलमा आन्तरिक विवाद भने कायम नै छ । झन्डै एक दर्जन जिल्ला विवाद जारी भएकै अवस्थामा पार्टी सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा दलको चौथो महाधिवेशन उद्घाटन गर्ने भएका छन् ।
झण्डै एक दर्जन जिल्लामा विवाद भएपछि पोखरामा महाधिवेशनको उदघाटन गरेर सर्वसम्मतीमा नेतृत्व चयनको प्रयासमा नेताहरु जुटेका छन् । महाधिवेशन सुरु हुने दिन नजिकदै गर्दा पार्टी निर्देशक समिति जिल्ला विवाद समाधान गर्ने प्रयासमा जुटेका छन् । अधिवेशन हुन नसकेका र विवादित रहेका जिल्लामा आपसी सहमतिमा महाधिवेशन प्रतिनिधि टुंगो लगाउने प्रयास भइरहेको समिति सदस्य रामकृष्ण यादवले जानकारी दिए ।पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल तरुण दलको नयाँ नेतृत्व सर्वसहमतिबाट चयन गर्न पार्टी नेताहरु सक्रिय भएका छन् । पार्टीको १३औं महाधिवेशनपछि भएका नेपाल बिद्यार्थी संघ तथा महिला संघको आन्तरिक निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा हुँदै आइरहेका बेला दलको नेतृत्वमा भने सहमतिको प्रयास भएको हो ।
देउवा र पौडेल पक्षका नेताहरु सर्वसहमतिबाट नयाँ नेतृत्व टुंगो लगाउने आन्तरिक प्रयासमा जुटेका छन् । देउवा पक्षले गुरु बराल वा जितजङ बस्नेतलाई अध्यक्ष बनाउने र अन्य पदमा पौडेल पक्षलाई मिलाएर लैजाने तयारीमा जुटेको छ । तर बरालको पक्षमा सर्वसम्मती हुँदा पौडेल पक्ष पनि सकारात्मक हुने बताइएको छ । अधिवेशनको आयोजक जिल्ला पोखराका स्थानिय र बराल र जितजंग बस्नेत मध्ये एकलाई अध्यक्ष वीपी कोइरालाका नाती सिद्धार्थ कोइरालालाई महामन्त्री बनाएर सर्वसम्मती गराउने प्रयास भइरहेको बताइएको छ ।
नयाँ नेतृत्वका लागि दुबै पक्षबाट दर्जन आकांक्षी देखिएका छन् । अध्यक्षका लागि यमबहादुर गुरुङ, पदम पालुंगा, उत्तम चापागाईं, दामोदर कोइराला, कर्ण मल्ल, सिद्धार्थ कोइराला, दिनेश भट्टराई, हर्क देउवा लागिपरेका छन् । उदयपुर, सुर्खेत, पर्सासहितका जिल्ला अधिवेशन भइसकेको जनाउँदै यादवले सदस्यता वितरण नभएका एकाद जिल्ला बाहेक सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि सहभागि गराउने तयारीमा निर्देशक समिति लागि परेको छ । भक्तपुर र सप्तरीमा अहिलेसम्म अधिवेशनको प्रक्रिया सुरु भएको छैन भने काभ्रे, बारा, धादिङ, बाँके,सर्लाही र धनुषामा विवाद छ ।
उता आयोजक जिल्ला पोखराले तरुण दलले चौथो महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । बिहीबार नै तरुण दलले पोखरामा पत्रकार सम्मेलन गर्दै महाधिवेशन हुँदैनकी भन्ने आशंका समाप्त भएको जनाएका हो । महाधिवेशनमा ७१ जिल्लाका करिब १४ सय प्रतिनिधि सहभागी हुनेछन् । तरुण दलको विधान अनुसार महाधिवेशनमा महानगरपालिकाबाट तीन, उपमहानगरपालिकाबाट दुई, नगरपालिकाबाट एक, क्षेत्रीय सभापतिसहित दुई र जिल्लाबाट आठजना प्रतिनिधि सहभागी हुने व्यवस्था छ ।
एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाबाट ९ जना सहभागी हुने विधानमा छ । त्यस्तै, अध्यक्षले मनोनीत गर्ने २० जनासहित विदेश विभागबाट तीन÷तीन जना सहभागी हुने व्यवस्था छ । तरुण दलले विदेशमा रहेका पाँचवटा शाखालाई मान्यता दिएको छ । केन्द्रीय समितिका ४५ जना पनि स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । यसअघि ६१ जनाको कार्यसमिति हुनेमा अब बढाएर ७५ पुग्न सक्ने पदाधिकारी बताउँछन् ।
प्रकाशित मिति: २६ कार्तिक २०७३, शुक्रबार १२:१२