काठमाडौ २५ कात्तिक । नेपालमा रक्तचन्दन तस्करीको नयाँ शैली अपनाइएको तथ्य बाहिर आएको छ । बहुमूल्य मानिएको प्रतिबन्धित रक्तचन्दनको गोलियालाई पेलेर तेल बनाई तस्करी गर्ने दुईजना तेलसहित पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो ।
प्रहरीका अनुसार राजनीतिक र प्रशासनिक आडमा मौलाएको रक्तचन्दन तस्करीमा कडाइ गरेपछि तस्करहरूले अब तेल बनाएर रक्तचन्दन तस्करीको धन्दा अघि बढाएका हुन् । भारतबाट चीनतर्फ तस्करी गर्न लागेको रक्तचन्दनको तेलसहित कीर्तिपुर प्रहरीले खोटाङ खाल्टे–७ का चन्द्रकुमार केसी र काभ्रे जैसीथोकका फणीन्द्र भट्टराईलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ९० लिटर रक्तचन्दको तेल बरामद भएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मेखबहादुर खत्रीका अनुसार अभियुक्तहरूले तेल बनाएर भारतबाट नेपालको बाटो हँुदै चीनतर्फ तस्करी गर्न लागेका हुन् । रक्तचन्दनको कारोबार हँुदै छ भन्ने जानकारी पाए पनि प्रहरीले सो तेल बरामद गर्न लामो समय कुर्नुपरेको थियो ।
‘विगत दुई महिनादेखि नै हामीले रक्तचन्दको तेल तस्करी हुँदै छ भन्ने सूचना पाएका थियौं । तर, फेला पार्न सकेका थिएनांै । हिजो फेला प¥यो,’ डीएसपी खत्रीले राजधानीसँग भने ।
डीएसपी खत्रीका अनुसार ९० लिटर सो तेल कतिमा कहाँ बेच्न लैजान लागेको हो भन्नेबारे पक्राउ परेका व्यक्तिले केही पनि बताउन चाहेका छैनन् । तीन वर्षअघि १० लिटर रक्तचन्दनको तेलसहित प्रहरीले बालाजु चोकबाट दुईजनालाई पक्राउ गरेको थियो । बागलुङका ४५ वर्षीय हीराबहादुर छन्त्याल र काभ्रेका ३३ वर्षीय औलसिंह तामाङ १० लिटर तेलसहित पक्राउ परेका हुन् । त्यसअघि पनि रक्तचन्दनको पाँच लिटर तेलसहित एकजना पक्राउ परेका थिए । पछिल्लो घटनाले तस्करहरूले रक्तचन्दन लैजान नसकेपछि यसबाट तेल उत्पादन गरेर चीनतर्फ तस्करी गरिरहेका छन् भन्ने पुष्टि भएको कीर्तिपुर प्रहरी वृत्तका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । औषधिका निम्ति चिनियाँ बजारमा रक्तचन्दनको ठूलो माग रहेको छ । ९० लिटर रक्तचन्दनको तेलको कति मूल्य पर्छ भन्ने खुल्न सकेको छैन । ‘कति मूल्य पर्छ भन्ने विषयमा उनीहरूले केही खुलाउन चाहेनन्, बाँकी अनुसन्धान गर्ने जिम्मा जिल्ला वन कार्यालय काठमाडांैलाई दिएका छौ,’ प्रहरी नायब उपरीक्षक खत्रीले भने । रक्तचन्दन सुरुमा ठूला गोलिया र काठकै रूपमा तस्करी हुन्थ्यो । प्रहरीले ठूलो मात्रामा बरामद गर्न थालेपछि ससाना टुक्रा तथा भाँडाकँुडा बनाएर तस्करी हुन थाल्यो ।राजधानी दैनिकमा खबर छ ।
त्यसलाई पनि प्रहरीले बरामद गर्न थालेपछि तस्करहरूले धुलो र माला बनाएर तस्करी गर्न थाले पनि प्रहरी त्यो पनि सुराकीमार्फत बरामद गर्न थालेपछि तेल बनाएर तस्करी हुन थालेको हो । तीन वर्ष पहिले प्रहरीले तेलसहित तीनजनालाई पक्राउ गरेपछि अहिले मात्रै प्रहरीले ९० लिटरसहित दुईजनालाई पक्राउ गरेको हो ।
लामो समय गुमनाम रहेका रक्तचन्दन तस्करहरू फेरि सलबालाएका हुन् भन्ने उनीहरू पक्राउ परेपछि पुष्टि भएको छ । चीनमा रक्तचन्दनको मूल्य प्रतिकेजी १६ हजारसम्म पर्ने जानकारहरूको दावी छ । त्यहाँ रक्तचन्दन विभिन्न फर्निचर, क्रिम तथा म्युजिक सामान बनाउन प्रयोग गरिन्छ । रक्तचन्दन साइटिसको अनुसूची–२ मा सूचीकृत छ । अनुसूची–२ मा सूचीकृत भएकाले यसको व्यापार–व्यवसाय गर्न पाइने भए पनि भारत सरकारले व्यापार–व्यवसायमा पूर्ण रूपले प्रतिबन्ध लगाउँदै आएको छ । अनुसूची–२ मा सूचीकृत भएकाले बरामद भएका वस्तु जुन देशमा उत्पादन भएको हो, सोही ठाउँमा नै पठाउनुपर्ने कानुनी प्रावधान छ ।
प्रकाशित मिति: २५ कार्तिक २०७३, बिहीबार ०७:५९