काठमाडौ २५ कात्तिक । भारत सरकारले १ हजार र ५ सय दरका भारतीय रुपैयाँ (भारु) नोटमाथि प्रतिबन्ध लगाएपछि त्यसको असर तत्कालै नेपालमा परेको छ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्था र मनी चेन्जरहरूलाई बुधबार बिहानै पत्राचार गरेर हजार र ५ सय दरका भारु सटही नगर्न निर्देशन दिएको छ ।

भारत सरकारकोे निर्णयका कारण यी दरका नोट नेपालमा अब चल्नेछैनन् । नेपाल र भारतको सीमावर्ती बजारहरूमा दुवै देशका नोट कारोबार गर्ने प्रचलन रहेको र भारतबाट नेपाली वा भारतीय नागरिकले सो दरका २५ हजार रुपैयाँसम्म नोट ल्याउन दिने यसअघिको व्यवस्थाका कारण नेपालको बैंकिङ प्रणाली र सर्वसाधारणसँग समेत ठूलो परिमाणमा सो दरका भारु नोट भएको आँकलन गरिएको छ । तर, सो दरका कति नोट नेपालमा छन् भन्ने यकिन तथ्यांक राष्ट्र बैंकसँग पनि छैन । नेपालमा हजार र ५ सय दरका भारु नोट १२ फागुन २०७१ अघिसम्म चलाउन प्रतिबन्ध लगाइएको थियो । तर, सो मितिमा नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था गरी सो दरका भारु पनि चल्ने र नेपाली तथा भारतीय नागरिकले २५ हजार रुपैयाँसम्मका सो दरका नोट नेपाल ल्याउन सक्ने व्यवस्था गरेको थियो ।राजधानी दैनिकमा खबर छ ।
भारतले नै हजार र ५ सय दरका नोटमाथि प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले सटही सुविधा दिन नसक्ने राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए । यसैकारण, बुधबार बिहानै सबै बैंक तथा वित्तीय संस्था र मनी चेन्जरहरूलाई सो दरका नोट सटही नगर्न परिपत्र गरिसकिएको उनको भनाइ छ । ‘नेपालमा भएका हजार र ५ सय दरका भारु नोटको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कूटनीतिक पहल थालेका छौं, तत्कालका लागि यी दरका नोट कहीँकतै चल्दैनन्, पछि कुनै व्यवस्था भयो भने सर्वसाधारणलाई जानकारी गराउँछौं,’ गभर्नर कार्यालयका निर्देशकसमेत रहेका पण्डितले
राजधानीसँग भने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै हजार र ५ सय दरका भारु नचल्ने घोषणा गरेका थिए ।
सो घोषणा कार्यान्वयनका लागि भन्दै दुई दिनसम्म भारतका सबै बैंक तथा वित्तीय संस्था बन्द गरिएका छन् । यस्तै, एटीएम पनि बन्द गरिएको छ । भारत सरकारको सो कदमलगत्तै बुधबार बिहान राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरूलाई सो दरका नोट सटही नगर्न पत्राचार गरेको हो । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भारतीय रिजर्भ बैंकका डेपुटी गभर्नरलाई फोन गरेर नेपाल राष्ट्र बैंकसँग, नेपालको बैंकिङ क्षेत्रसँग भएको र नेपाली सर्वसाधारणसँग भएका सो दरका भारुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कुराकानी गरेका सहायक प्रवक्ता पण्डितले जानकारी दिए । यस्तै, भारतीय दूतावासका अधिकारीसँग पनि यस विषयमा कुराकानी भएको छ ।
नेपाल राष्ट्र बैंकले राष्ट्र बैंक, अर्थ मन्त्रालय, राजदूतावास र परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरेर समस्या समाधानको उपाय सुरु गरिसकेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तो पहल गर्न नेपालको औपचारिक प्रणालीमा सो दरका नोट कति छन् भन्ने गणना गर्ने कार्य अगाडि बढेको छ । हजार र ५ सय दरका भारु नचल्ने भएपछि नेपालमा सो परिमाणको नोट कति छन् र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णयमा पुग्न नेपाल राष्ट्र बैंकले सबै सरोकारवालालाई हजार र ५ सय दरका नोट गन्न निर्देशन दिएको हो ।
मूल्य बढ्ने चिन्ता
भारत सरकारले भारतीय रुपैयाँ १ हजार र ५ सय दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपाली बजारमा पनि पर्ने भएको छ । खुला सिमानाका कारण भारत र नेपालका सीमावर्ती बजारहरूमा दुवै देशका मुद्रा चल्ने गरेको, नेपालीले भारतमा काम गरेर कमाएको पैसा नगदमै नेपाल ल्याउने गरेका कारण चलन चल्तीमा रहेका भारुको व्यवस्थापनजस्ता विषयमा समस्या आउने देखिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा भारतको यस्तो कदमले नेपालमा खाद्यान्नको मूल्य बढ्ने, नेपाल राष्ट्र बैंकबाट औपचारिक रूपमा जारी भएका सो दरका नोटको व्यवस्थापन कसरी गर्ने र भारतमा काम गरेका नेपालीले ल्याएको भारु के गर्ने भन्ने समस्या पहिलो चरमा देखिने बताउँछन् । नेपाल भारतको औपचारिक व्यापार तथा नेपालमा हुने भारतीय लगानीका विषयमा भने यसको तत्काल असर नदेखिने उनको भनाइ छ ।
भारतबाट नेपालमा खाद्यान्न आयात गर्ने अधिकांश व्यापारीले भारतबाट नगदमा ल्याउने गरेको र यस्तो वस्तुको भन्सार मूल्यांकन कम भएका कारण अहिले सस्तो भएको उनको भनाइ छ । ‘भारतीय बजारमा नगदै तिरेर खाद्यान्न आयात गर्ने र भन्सार मूल्यांकन कम गर्ने गरेका कारण खाद्यान्न सस्तो थियो, अब तत्कालै त्यस्तो सम्भावना देखिएन, न्यूनबीजकीकरणको समस्या भए पनि सर्वसाधारणले सस्तोमा सामान किन्न पाएका थिए, अब नगदमा खरिद गर्न नसकिने भएपछि महँगो पर्छ, यसले खाद्यान्नको मूल्य तत्कालै बढ्ने खतरा निम्त्याउने देखिन्छ,’ महासंघका उपाध्यक्ष गोल्छाले राजधानीसँग भने ।
यस्तै, नेपाल राष्ट्र बैंकले भारतमा अध्ययन, भ्रमण र स्वास्थ्य उपचारका लागि जाने नेपालीलाई औपचारिक रूपमा भारु सटही गरिदिने गरेको छ । यस्तो सजिलो र बोक्न थोरै हुने भएका कारण यस्तो प्रयोजनका लागि लिइने भारु १ हजार र ५ सय रुपैयाँ दरका पनि हुने गरेका छन् । यस्ता नोटहरू राष्ट्र बैंक आफैंले अब फिर्ता लिने कि नलिने भन्ने प्रस्ट नभएकाले यसले पार्ने असरका विषयमा अहिले नै भन्न नसकिने गोल्छाको भनाइ छ । उनले भारतमा काम गरेर कमाएको पैसा नगदै नेपाल ल्याउनेहरूले ल्याएको नोटको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती पनि रहेको बताए ।
भारत काम गर्न जानेहरूको बाहुल्य रहेका ग्रामीण क्षेत्रमा अझै पनि भारु चलनचल्तीमा रहेकाले त्यस्ता नोटको उचित व्यवस्थापन गर्न नसकिए गरिब नेपालीको आर्थिक अवस्था अझ दयनीय हुने र त्यसले शान्ति सुव्यवस्थादेखि गरिबी निवारण र आर्थिक वृद्धिको राष्ट्रिय लक्ष्यमा नै गम्भीर नकारात्मक असर पर्ने उनको भनाइ छ ।
विकल्पमा २ हजार र नयाँ ५ सयका नोट
भारतले नक्कली नोटको कारोबार बढेर अर्थतन्त्रमै संकट आउन थालेको भन्दै ५ सय र १ हजार दरका नोटको कारोबारमा रोक लगाएपछि त्यसको विकल्पमा नयाँ नोट ल्याउन लागेको छ । भारतले ५ सय दरको नयाँ नोट ल्याउन लागेको छ भने १ हजार दरको सट्टा एकैपटक २ हजार दरको नोट ल्याउन लागेको हो । ५ सयको नयाँ नोटमा एकातिर महात्मा गान्धीको फोटो हुनेछ भने अर्काेतिर लालकिल्लाको तस्बिर हुनेछ । त्यस्तै, २ हजारको नयाँ नोटमा एकातिर महात्मा गान्धी र अर्काे भागमा मंगलायनको तस्बिर हुने रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले जनाएको छ । नयाँ नोटहरूमा आधुनिक सेक्युरिटी फिचर्सहरू समावेश गरिएको जनाएको छ ।
प्रकाशित मिति: २५ कार्तिक २०७३, बिहीबार ०७:४८