काठमाडौँ, २४ कात्तिक । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय नीति एक चीन रहेको एवम् त्यसप्रति आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाली काँग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भारतको गोवामा भएको इन्डिया फाउन्डेसनको कार्यक्रमपछि नयाँ दिल्लीमा उच्चस्तरीय भेटघाट गरेर बुधबार स्वदेश फर्कदैं । तस्बिरः रोशन सापकोटा, रासस
इन्डिया फाउन्डेसनले गोवामा आयोजना गरेको कार्यक्रमपछि नयाँदिल्लीमा उच्चस्तरीय भेटघाट गरेर आज स्वदेश फर्केका सभापति देउवाले विमानस्थलमा सञ्चारकर्मीसँग भने– “तिब्बत चीनको अभिन्न अङ्ग हो, म एक चीनप्रति प्रतिबद्ध छु ।”
झुठा समाचार प्रसारण गरेर केही नेपाली मिडियाले आफूलाई लखेट्ने काम गरेको भनी आपत्ति प्रकट गर्दै उनले इन्डिया फाउन्डेसनको कार्यक्रममा मिडियामा आएजस्तो त्यस किसिमका कुनै व्यक्तिसँग आफ्नो भेटघाट नभएको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटमा दुईपक्षीय सम्बन्ध र भूकम्पपछिको पुनःनिर्माणका विषयमा केन्द्रित रहेर विचार–विमर्श भएको बताउँदै सभापति देउवाले नेपालप्रति उनको अत्यन्त राम्रो सद्भाव रहेको पाएँ भने ।
भेटका अवसरमा प्रधानमन्त्री मोदीले इमान्दार र जिम्मेवारीप्रति सजग रहेका भूपू गोर्खा सैनिकलाई समेत काममा संलग्न गराएर पुनःनिर्माणको कामलाई तीव्रता प्रदान गर्न सुझाव दिएकाे बताए ।
नेपाली काँग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भारतको गोवामा भएको इन्डिया फाउन्डेसनको कार्यक्रमपछि नयाँ दिल्लीमा उच्चस्तरीय भेटघाट गरेर बुधबार स्वदेश फर्कनेक्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै । तस्बिरः रोशन सापकोटा, रासस
नेपाल संविधान कार्यान्वयनको चरणमा रहेको हुँदा संविधानलाई सर्वस्वीकार्य बनाउन राजनीतिक सहमति जुटाउने प्रयास भइरहेको बारेमा आफूले प्रधानमन्त्री मोदीलाई बताएको जानकारी दिँदै सभापति देउवाले भने– ‘‘पछिल्लोपटक सार्वजनिक भएको भनिएको संविधान संशोधनको मस्यौदा पनि हुँदै होइन ।’’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग कुरा गरेर संविधान संशोधनलाई छिटो अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै सभापति देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्तविरुद्ध लगाइएको अभियोग प्रष्ट भएपछि त्यसबारे पार्टीले निर्णय गर्ने जानकारी दिए ।
सभापतिको स्वागतका लागि रक्षामन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारी, नेपाली काँग्रेसका सांसद तथा कार्यकर्ता विमानस्थल पुगेका थिए । रासस