काठमाडौँ, २५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले कसैसँग पनि शत्रुता नराखी सबैसँग मित्रभाव कायम गर्ने नेपालको स्पष्ट परराष्ट्र नीति भएको बताएका छन् । द डेभलपमेन्ट इन्स्टिच्युटद्वारा आयोजित त्रिपक्षीय विमर्शभन्दा पर हिमालयपार सहयोग विषयक एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले इतिहास कालदेखि सार्वभौम र स्वतन्त्र मुलुक नेपालले मैत्री, विश्वास र आपसी समझदारीबाटै अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडि बढाउने विश्वास दिलाए ।
प्रधानमन्त्री दाहालले पर्यटनको क्षेत्रमा कैलाश मानसरोवरदेखि पशुपतिनाथसम्म, लुम्बिनीदेखि वनारससम्म जोड्नुपर्ने भन्दै त्यसका लागि सहयोग गर्नुपर्ने बताए । भारत र चीनले आफ्ना छिमेकी मुलुकलाई प्राथमिकता दिएको बताउँदै उहाँले यी दुई मुलुकसँग सौहार्द्र सम्बन्ध कायम गरेर समृद्धिको बाटोमा लाग्नु सुखद् अवसर भएको बताए ।‘व्यापारको हिसाबले नेपाल महत्वपूर्णस्थल बन्न सक्छ, त्यसका लागि पूर्वाधार र बहुपक्षीय सडक तथा रेलमार्गले दुई ठूला मुलुक भारत र चीनलाई जोड्नुपर्छ’ – उनले भने ।
प्रधानमन्त्री दाहालले प्रविधिको अपार सम्भावनाका दृष्टिले हिमालयपार सडक तथा रेलमार्गलाई रोक्न नसकिने भन्दै पूर्वाधारको विकासलाई केही दशकमै पूरा गरेर त्यस क्षेत्रले आर्थिक सम्वृद्धिको आधार सिर्जना गर्ने बताए । नेपाल, भारत र चीनबीचको त्रिपक्षीय समझदारीलाई आफूले निरन्तर अगाडि बढाएको बताउँदै प्रधानमन्त्री दाहालले हिमालय सीमापारको मुख्य उद्देश्य आपसी सहकार्य गरेर अगाडि बढ्नु रहेको बताए ।
गरिबी, बेरोजगारी, वातावरणीय परिवर्तन तथा आतङ्कवाद जस्ता समस्यासँग जुध्न आपसी मैत्रीभाव तथा समृद्धिको आदानप्रदान जरुरी रहेको उनको धारणा थियो । ‘हिमालय सीमापार सहकार्यमार्फत मुलुकको महत्वपूर्ण ऐतिहासिक एवम् जनस्तरको सम्बन्ध र परम्परागत सभ्यता, संस्कृति र व्यापारमा सहयोग पुग्छ’– उनले भने ।
त्यसैगरी, नेपाली काँग्रेसका नेता डा रामशरण महतले नेपाललाई व्यापारिक रूपमा अगाडि बढाउनका लागि संविधानको कार्यान्वयनसँगै राजनीतिक स्थिरता कायम गर्नुपर्ने बताए । सोही अवसरमा नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले काठमाडौँलाई भारत र चीनको व्यापारिक पारवहन बिन्दु बनाउनुपर्नेमा जोड दिए । नेपालप्रति भारत र चीनको विश्वासमा खडेरी आउन नदिन नेपालले सन्तुलन कायम गर्नुपर्ने सचिव ज्ञवालीको भनाइ थियो ।
द डेभलपमेन्ट इन्स्टिच्युटका अध्यक्ष भरतमोहन अधिकारीले नेपालले नगदेबाली, सांस्कृतिक तथा पर्यटकीय सम्पदा र जलविद्युत्बाट थुप्रै फाइदा लिन सक्ने सम्भावना रहेको बताए । अध्यक्ष अधिकारीले नेपाल, भारत र चीनबीचको क्षेत्रीय सद्भाव तथा सहयोगबाट शान्ति र समृद्धि सुनिश्चित हुने विश्वास व्यक्त गरे ।
अरनिको राजमार्ग तथा चीनसँग जोड्ने स्याफ्रुबेँसी–केरुङ राजमार्गमा सहयोग गरिसकेको मित्रराष्ट्र चीनले ल्हासा–केरुङ जोड्ने रेल्वेको विकासको प्रक्रिया अगाडि बढाएको अध्यक्ष अधिकारीले जानकारी दिए । दिनभरि चल्ने सो गोष्ठीमा नेपाल, भारत र चीनका विषय विज्ञले प्रस्तुत कार्यपत्रमाथि छलफल गरिनेछ ।
प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार १५:२२