भक्तपुर, २४ कात्तिक । भक्तपुरको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रका सिमाना निर्धारण आयोगमा जिल्लामा चारवटा नगरपालिका बनाउने प्रस्ताव पेस गरेको छ ।
समिति संयोजक एवम् स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले गत २१ गते आइतबार आयोगमा यस्तो प्रस्ताव पेस गरेपछि जिल्लाका तीनवटा दलले समर्थन गरेका छन् भने आठवटा दलले प्रस्तावको विरोध गरेका छन् । जिल्लाका नेपाली काँग्रेस, एमाले र नयाँशक्ति पार्टीले जिल्लालाई जनसङ्ख्या र भौगालिक आधारमा चारवटा नगरपालिका बनाउनु उपयुक्त हुने समितिलाई सुझाव दिएको एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले बताए ।
यता नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठले समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले एकलौटी रुपमा दलहरुको निर्णयविपरीत प्रस्ताव पेस गरेको आरोप लगाए ।
दलीय संयन्त्रसहित बसेको समितिको बैठकमा भएको निर्णयविपरीत संयोजक कोइरालाले प्रस्ताव पेस गरेको जिकिर गर्दै त्यसविरुद्ध जिल्लाका आठ राजनीतिक दलले हस्ताक्षर गरेर आयोग र स्थानीय विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको बताएका छन् ।
उनले भने–“समितिको हचुवाको निर्णयमा भएको भक्तपुरलाई चारवटा नगरपालिका कायम गर्ने प्रस्ताव मान्य हुँदैन, जिल्लालाई ६ वटै नगरपालिका कायम गर्नुपर्छ भन्ने हाम्रो माग हो, यही मागसहितको संयुक्त ज्ञापनपत्र बुझाएका छौँ ।”
जिल्लाका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष रमेश थापा श्रेष्ठ, (माओवादी केन्द्र) का जिल्ला संयोजक देवेन्द्र श्रेष्ठ, राप्रपा नेपालकी यवती कार्की, राप्रपाका जिल्ला अध्यक्ष रामशरण लामिछाने, नेकपा (माले)का मनोज थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष शिवहरि खनाल, राष्ट्रिय जनमुक्ति पार्टीका दिलबहादुर तामाङ र नेकपा (संयुक्त)का कृष्ण पहाडीले हस्ताक्षर गरेको उक्त ज्ञापनपत्र आयोग र स्थानीय विकास मन्त्रालयमा बुझाएको नेमकिपाका जिल्ला अध्यक्ष श्रेष्ठले बताए ।
जिल्लालाई चारवटा नगरपालिका बनाउने प्रस्तावलाई कुनै हालतमा मान्न नसकिने बताउँदै जनताको भावनाविपरीत निर्णय भए आन्दोलन गर्ने आठ राजनीतिक दलका प्रतिनिधिले बताएका छन् ।
यता समितिको संयोजक कोइरालाले भक्तपुरमा छवटा नगरपालिका रहेको अवस्थामा सरकारले राज्यको पुनःसंरचना गर्ने भएकाले त्यसलाई सफल पार्न पनि छवटा नगरपालिकालाई घटाएर चार वटाको सिफारिस गरिएको बताए ।
प्राधिकरणको नीति नियम, मापदण्ड, जनसङ्ख्या र भौगोलिक परिस्थितिलाई आधार मानेर चारवटा नगरपालिकाको सिफारिस गरिएको उनले बताए ।
समितिले जिल्लाका दुई पुराना नगरपालिका भक्तपुर नगरपालिका र मध्यपुरथिमि नगरपालिकालाई यथावत् राखेर नयाँ चार नगरपालिकालाई गाभ्ने प्रस्ताव गरेको छ । जसमा सूर्यविनायक र अनन्तलिङ्गेश्वरलाई गाभेर सूर्यविनायक नगरपालिका बनाउने तथा चाँगुनारायण र नगरकोटलाई गाभेर चाँगुनारायण नगरपालिका बनाउने प्रस्ताव पेस गरेको छ ।
समितिले भक्तपुर नगरपालिकाको भक्तपुर, मध्यपुरठिमी नगरपालिकाको ठिमी, सूर्यविनायक नगरपालिकाको सल्लाघारी कटुञ्जे र चाँगुनारायण नगरपालिकाको खरिपाटीमा केन्द्र रहने प्रस्ताव गरेको छ ।
समितिले प्रस्तावित भक्तपुर नगरपालिकामा १०, सूर्यविनायकमा १०, चाँगुनारायणमा नौ र मध्यपुरठिमीमा नौ गरी ३८ वटा वडा रहने निर्णयसहितको प्रस्ताव पेस गरेको छ ।
जिल्लामा २०६८ को जनगणनाअनुसार दुई लाख ९८ हजार ७०४ जनसङ्ख्या रहेकोमा पुनःसंरचनापछि नयाँ भक्तपुर नगरपालिकाको ८१ हजार ७४८, मध्यपुरठिमीको ८३ हजार ३६, सूर्यविनायकको ७४ हजार ४९० र चाँगुनारायण नगरपालिकाको ५५ हजार ४३० जनसङ्ख्या रहनेछ । रासस