धनगढी, २४ कात्तिक । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय खेलकूद प्रतियोगितामा छनोट हुने सुदूरपश्चिमका खेलाडीलाई अबदेखि निःशुल्क शिक्षाको व्यवस्था गर्न लागिएको घोषणा गरेका छन् ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विष्टले खेलाडीको हितका लागि यो सुविधा प्रदान गर्न लागिएको बताए । निःशुल्क शिक्षाको व्यवस्था विस्तारै अन्य क्षेत्रका खेलाडीलाई पनि प्रदान गर्ने योजना रहेको उनले बताए ।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मङ्सिर महिनामा नै आयोजना गर्ने गरी तयारी अघि बढाइएको विष्टले जानकारी दिए ।
आउने मङ्सिरमा आयोजना गरिने राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति भने बोर्ड बैठकले तोक्न लागेको छ, विष्टले भने ‘बजेटका कारण यो खेलकुद प्रतियोगिता रोकिँदैन ।’
हरेक दुई÷दुई वर्षमा आयोजना गरिने राष्ट्रिय खेलकुद प्रतियोगिता पछिल्लो केही वर्षदेखि तोकिएको समयमा हुन नसकी सर्दै आएको छ ।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मङ्सिर–८ गतेदेखि विराटनगरमा गरिने घोषणा यसअघि नै गरिएकोमा यो मितिमा भने प्रतियोगिता हुन नसक्ने देखिएको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता अघि गरिने क्षेत्रीयस्तरका प्रतियोगिता कात्तिक ३ गतेदेखि मङ्सिर ३ गतेसम्म गर्ने घोषणा गरिएकोमा यी प्रतियोगिता स्थगित अवस्थामा रहेको क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्लले बताए ।
छैठौँं राष्ट्रिय खेलकुद प्रतियोगिता विसं २०६८ फागुनमा धनगढीमा गरिएको थियो ।
तेक्वान्दोका खेलाडीलाई खेल सामग्री प्रदान
यसैबीच, तेक्वान्दोका कीर्तिमानी ओलम्पियन खेलाडी दीपक विष्टको पहलमा प्राप्त भएका तेक्वान्दो खेलका सामग्री सुदूरपश्चिमका तेक्वान्दो खेलाडीलाई मङ्गलबार निःशुल्क रुपमा उपलब्ध गराइएको छ ।
क्षेत्रीय खेलकुद विकास समिति धनगढीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले तेक्वान्दोका प्रशिक्षकलाई यी खेल सामग्री हस्तान्तरण गरे ।
कीर्तिमानी खेलाडी विष्टले झन्डै रु २० लाख मूल्य बराबरका यी सामग्री विभिन्न क्लब र खेलकुद सङ्गठनबाट निःशुल्क रुपमा जुटाएकाे बताइएको छ । रासस