खोटाङ, २३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको मस्यौदा प्रक्रिया सम्बन्धित मन्त्रालयका सचिव र सरकारमा सामेल नेताहरुलाई राखेर अघि बढाइने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल खोटाङको दिक्तेलमा मङगलबार आयोजना गरिएको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्बिरः केदार मगर, खोटाङ, रासस
मध्यपहाडी लोकमार्गको निरीक्षणका लागि यहाँ आएका प्रधानमन्त्री दाहालले सदरमुकाम दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गरेर निर्वाचनमा जानेमा सरकार केन्द्रित रहेको स्पष्ट गर्दै भने, “ड्राफ्टको प्रक्रियाको सुरुआत हिजो बेलुका(सोमबार)देखि मात्रै सुरु गरेका छौँ, पहिल्यै नै भइसक्यो रे, यो हुने भयो रे, त्यो हुने भयो रे भन्नेजस्ता प्रचारबाजी सत्य होइनन् ।”
नयाँ सरकार गठनपछि राष्ट्रिय सहमति गर्ने, राष्ट्रिय एकता सिर्जना गर्ने, संविधान संशोधन गरेर त्यसलाई फराकिलो बनाउने, सर्वस्वीकार्यता बढाउने र पुनःनिर्माणलाई गति दिने तथा छिमेकीसँगको सम्बन्धलाई सुधार गर्दै सुमधुर बनाउनेमा आफू केन्द्रित रहेको बताउँदै उनले भने,“सरकारले चालेको कदममा निरन्तर प्रगति पनि भइरहेको छ ।” प्रधानमन्त्री दाहालले देशमा राष्ट्रिय सहमति बन्दै गएको तथा सत्तापक्ष र प्रतिपक्षबीच सकारात्मक छलफल भइरहेकाले देशले अब चाँडैे समाधान पाउने विश्वास व्यक्त गरे ।
मधेसी, थारु, आदिवासी जनजातिसँग पनि छलफल गरेर राष्ट्रिय सहमतिमै संविधान संशोधन गर्ने वातावरण बनाइने बताउँदै उनले राष्ट्रलाई एकताबद्ध बनाएर यही सरकारले देशलाई निर्वाचनमा लिएर जाने प्रस्ट्याए ।
सो अवसरमा प्रधानमन्त्रीलाई जिल्लाको विकास निर्माणका अवस्थाका बारेमा स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले जानकारी दिए ।
कार्यक्रममा सहभागी जिल्लास्थित शान्ति समितिमार्फत सबै राजनीतिक दल र उद्योग वाणिज्य सङ्घले छुट्टै विभिन्न माग राखेर आफूलाई दिएको ज्ञापनपत्र पनि बुझ्दै प्रधानमन्त्रीले आफू सरकारमा रहेकै समयमा खोटाङवासीका लागि उपलब्धिमूलक काम गरेर छाड्ने प्रतिबद्धता जनाए । उनले जिल्लामा निर्माणाधीन सबै विकासे योजना तोकिएकै मितिमा सम्पन्न गर्न पनि निर्देशन दिए ।
यहाँबाट उनी आजै सङ्खुवासभा प्रस्थान गरेका छन् । उनीसँगै निमित्त मुख्य सचिव टङ्कमणि शर्मा, भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव लगायतको सहभागिता थियोे । रासस