सुर्खेत, २२ कात्तिक । सुर्खेतमा बन्ने स्थानीय निकायहरुको सुझावसहित अन्तिम टुङ्गो लागेको छ । जिल्ला प्राविधिक सहयोग समिति सुर्खेतले १ उपमहानगरपालिका, ३ नगरपालिका र ५ गाउँपालिका सहित ९ वटा स्थानीय र्इकाइको खाका तयार पारेको छ ।
खाका अनुसार पश्चिममा लगाम, वेतान, बिजौरा घाटगाउँ र गुटु गाविसलार्इ समावेश गरी चौंकुने गाउँपालिका प्रस्ताव गरिएको छ । चौकुने गाउँपालिकामा साविकका ४५ वडाहरु मिलाएर नयाँ १० वडाको प्रस्ताव गरिएको छ ।
त्यस्तै पश्चिमकै साल्कोट, बावियाचौर, छाप्रे, बिद्यापुर र तातापानी गाविसलार्इ समावेश गरी पञ्चपुरी नगरपालिका प्रस्ताव गरिएको छ । जुन नगरपालिकामा ११ वटा वडा प्रस्ताव गरिएको छन् । हालको ३ नम्बर निर्वाचन क्षेत्र रहेको पश्चिम सुर्खेतमा पहिलाे पटक नगरपालिका प्रस्ताव गरिएको हो।
त्यसैगरी पोखरीकाँडा, कुनाथरी, लेखगाँउ, हरिहरपुर र तरङ्गा गाविसलार्इ समावेश गरी १० वडा सहितको बराह गाउँपालिका प्रस्ताव गरिएको छ ।
हालको मध्यपश्चिमाञ्चल क्षेत्रको क्षेत्रीय सदरमुकाम तथा जिल्ला सदरमुकाम र भोलीको छ नम्बर प्रदेशको राजधानी हुने साविकको वीरेन्द्रनगर नगरपालिकामा रतु, गढी र गर्पन गाविसलार्इ समावेश गरी १६ वडा सहितको उपमहानगरपालिकाको प्रस्ताव गरिएको छ ।
उत्तरी भेगका रजेना रानीवास मटेला अवलचिङ र पाम्का गाविसलाई समावेश गरी ६ वटा वडा सहितको चिङ्गाड गाउँपालिका प्रस्ताव गरिएको छ ।
भने साटाखानी, कल्याण, दशरथपुर, नेटा र लेखफर्सा गाविसलाई समावेश गरी १० वडा सहितको लेकबेसी नगरपालिका प्रस्ताव गरिएको छ । यस क्षेत्रमा नगरपालिका पहिलो पटक प्रस्ताव गरिएको हो ।
साविक भेरीगंगा नगरपालिका र लेखपराजुल गाविसलाई समावेश गरी १३ वटा वडा सहितको भेरीगंगा नगरपालिका प्रस्ताव गरिएको छ ।
साविकको सुभाघाट गंगामाला नगरपालिकामा सहारे, मालारानी र धारापानी गाविसलाई समावेश गरी १४ वडाको गुर्भाकोट नगरपालिका प्रस्ताव गरिएको छ ।
त्यसैगरी सिम्ता भेगमा रहेका घोरेटा, काफ्लकोट, बजेडीचौर, काप्रीचौर, डाँडाखाली, खानीखोला र आग्रीगाँउ गाविसलाई समावेश गरी ९ वडा सहितको सिम्ता गाउँपालिका प्रस्ताव गरिएको छ ।
प्रकाशित मिति: २२ कार्तिक २०७३, सोमबार १२:४६