पाल्पा, २१ कात्तिक । यहाँका किसान दसँैतिहार सकेर धान काट्न, सुकाउन, खलो बनाउन, दाई लगाउने चटारोमा छन् ।
बिहानदेखि साँझसम्म खेतको धान भित्र्याउन किसानको चहलपहल बढेको हो । यस वर्ष समयमा वर्षा भएको र रोग तथा कीराले नसताएकाले धानको बाला राम्रो हुनुका साथै बढी फलेको देखिन्छ ।
रुप्से गाविस– २, खहरेखोलाकी शान्ति कोइरालले विगतका वर्षको तुलनामा यसवर्ष धानबाली बढी फलेको बताउछिन् । धान काटेर खेतमा सुकाएर राखेको र पानी नपरेमा दाइँ हाली भित्र्याउन सजिलो हुने सम्बद्ध किसानको भनाइ छ ।
धान राम्रो फलेको छ, यसलाई राम्रोसँग भित्र्याउन पाए वर्षभरिको चामल सुरक्षित हुने उनी बताउछिन् । यस वर्ष समयमै मनसुन भएकाले र उन्नत जातको धानबालीमा रोगको प्रकोप नहुँदा विगतका वर्षमा भन्दा धानको उत्पादनमा १५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कसिल अहमद बताउछन् ।
उनका अनुसार माडीफाँट, कचलफाँट, रामपुरफाँट, अर्गली, हुँगी, पूर्वखोला, झडेवा, सर्देवालगायतमा बढी मात्रामा धान उत्पादन भएको देखिन्छ । छ हजार २२० हेक्टर क्षेत्रफलमा उन्नत तथा स्थानीय जातका धानखेती गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार अनुदानमा सावित्री, खुमलटार, रामलगायतका उन्नत धानको बीउका कारण उत्पादनमा वृद्धि भएको हो । स्थानीय जातका धान भन्दा उन्नत जातका धान बढी फल्ने भएपछि किसान पनि उन्नत जातको धानीखेती प्रति आकर्षित भएका हुन् ।
कृषक कोइरालाका अनुसार रुप्से, पोखराथोक, मदनपोखरा, कसेनी, चिदीपानी, हुमिन, झडेवा गाविसलगायतका क्षेत्रका किसान धानबाली भित्र्याउन जुटेपछि अहिले माडीफाँट रमणीय बनेको हो ।
माडी फाँटमा सावित्री, राजा, मनसुली, मलेसिया, सावा मनसुली, हाइब्रिड तथा स्थानीय जातका धान लगाइएको छ । यहाँको पानी प्रशस्त भएका क्षेत्रमा चैते धानबाली पनि गरिएको छ ।
उत्पादन बर्सेनि बढेपनि पाल्पा जिल्ला चामलमा आत्मनिर्भर हुनसकेको छैन । रासस