वासिङटन डीसी २०, कात्तिक । हिलरी क्लिन्टनको राष्ट्रपति पदका लागि अभियान आफ्नै उम्मेदवारीका लागि सम्भवतः सबैभन्दा ठूलो विजय प्राप्त गर्ने तथा गभर्नर तथा संसदीय पदका लागि स्पष्टतः डेमोक्र्याटिक पार्टीका सहयोगी उम्मेदवारका लागि थप मत प्राप्त गर्न सहयोग गर्ने कुरामा विभाजित भएको छ ।
क्लिन्टनले निर्णायक रूपमा विजय हासिल गरि (ता कि उत्साह तलसम्म विस्तार होस्) वा समय तथा रकम खर्च गरि आफ्ना सहयोगी उम्मेदवारलाई सहयोग गर्न सक्ने कि नसक्ने भन्ने त खुला प्रश्न भएको छ ।
क्लिन्टनको समूहले दुबै रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ । मतदानको एक साता मात्र बाँकी रहँदा राष्ट्रपति पदका उम्मेदवारहरू मुलुकभर पुगिरहेका छन् । हालसम्म रिपब्लिकन पार्टीबाट मनोनित डोनल्ड ट्रम्पले विजय प्राप्त गर्न आवश्यक इलेक्टोरल कलेजका २७० मत सङ्कलन गर्न सङ्घर्ष गरिरहेका छन् भने क्लिन्टन सम्भव भएसम्म ठूलो विजय (जनमत तथा इलेक्टोरल कलेज दुबैतर्फ) सुनिश्चित गर्न प्रयास गरिरहेकी छिन् ।
एक साता अगाडि मात्र, क्लिन्टन अत्यधिक मतको विजयतर्फ उन्मुख देखिन्थिन्। तर अक्टोबर २८ मा सङ्घीय अनुसन्धान संस्था (एफबीआई) का निर्देशक जेम्स कोमीले संसदलाई एक पत्र पठाइ क्लिन्टन विदेशमन्त्री रहँदा निजी इमेल सर्भर उपयोग गरेको विषयमा आफूले अनुसन्धान पुनः आरम्भ गर्ने घोषणा गरेका छन् । यसको कारण ? क्लिन्टनका विवादित पतिका आफ्नै क्रियाकलापका विषयमा भएको छुट्टै सोधपुछमा उनका नजिकका सहयोगी ह्युमा अबेदिनको ल्यापटपमा हजारौँ इमेल फेला परेको थियो । (यो कुनै चलचित्रको कथा हुँदै होइन ।)
कोमीको घोषणाले ठूलो कोलाहल उत्पन्न गरायो, तर यसले यस दौडमा देखिने गरी प्रभाव पारेको छैन । क्लिन्टनको समूहले एरिजोना, जर्जिया, युटा जस्ता पहिले रिपब्लिकन पार्टीको बलियोगढमा पनि विजय प्राप्त गर्ने प्रयास छोडेको छैन । इमेल फेला परेको कुराले बल बढ्दा पनि ट्रम्पले इलेक्टोरल कलेजको गणनामा कमै प्रभाव दिने न्यु मेक्सिको जस्ता राज्यमा आफ्नो प्रयास निरन्तर राखेका छन् । यसो भए पनि राजनीतिमा नयाँ ट्रम्पले आफूलाई ठूलो राजनीतिक रणनीतिकारको रूपमा हेर्ने गर्छन् ।
ट्रम्पलाई सहयोग गर्ने राजनीतिक सहयोगी थोरै छन् । जब कि क्लिन्टनका धेरै प्रतिनिधिमा उनका पति, पूर्व राष्ट्रपति बिल क्लिन्टन, राष्ट्रपति बराक ओबामा, प्रथम महिला तथा यस निर्वाचनमा चर्चित व्यक्तित्व मिसेल ओबामा, उपराष्ट्रपति जो बाइडेन तथा क्लिन्टनका उपराष्ट्रपति पदका लागि उम्मेदवार टिम केन रहेका छन् । बामपन्थतर्फका एलिजावेथ वारेन तथा बर्नी स्यान्डर्सले क्लिन्टनका लागि अभियान सञ्चालन गरेका छन् र उनले विजय हासिल गरे नीति तथा नियुक्तिमा दुबैको श्रेय हुनेछ ।
यसबीच क्लिन्टन वर्तमान सिनेटमा रहेका रिपब्लिकन पार्टीका उम्मेदवारलाई चुनौति दिने डेमोक्र्याटिक पार्टीका उम्मेदवारका साथ देखारेकी छिन् । यसमा पेनसिलभेनियामा सिनेटर प्याट ट्युमीलाई हटाउन उठेका केटी म्याकिन्टी, न्यु ह्याम्सरमा सिनेटर केली अयोटलाई पराजित गर्ने अपेक्षा गरिएका गभर्नर म्यागी हसन, नर्थ क्यारोलाइनामा सिनेटर रिचर्ड बरलाई कडा चुनौति दिने डेबोर रस परेका छन् ।
क्लिन्टनको अभियानले सिनेट, प्रतिनिधिसभा, गभर्नर तथा राज्यस्तरीय संसदीय दौडका अनेकौँ उम्मेदवारका लागि रकम खर्च गरेको छ र क्लिन्टनका स्थानीय कार्यकर्ता तथा स्वयंसेवीलाई यस प्रतिस्पर्धात्मक दौडमा सहयोगी उम्मेदवारलाई पनि सहयोग गर्न अभिप्रेरित गरेको छ । ओबामाले पनि आफ्नो तर्फबाट सिनेट, प्रतिनिधिसभा तथा राज्यस्तरीय संसदका लागि डेमोक्र्याटिक पार्टीका उम्मेदवारलाई समर्थन गर्दै शृङ्खलावद्ध भिडियो उत्पादन गरेका छन् । अनेकौँ पण्डितले एफबीआईको घोषणाले रिपब्लिकन पार्टीका सहयोगी उम्मेदवारलाई सहयोग गर्ने धारणा राखेका छन् तर त्यो अनुमान मात्रै हो ।
यदि क्लिन्टनले ह्वाइट हाउसका लागि विजय हासिल गरिन् भने रिपब्लिकन पार्टीका तर्फबाट पदभार वहन गर्ने धेरै व्यक्ति बढारिनेछन् र अमेरिकामा निर्वाचनको छाल आउनेछ । तर अन्तिम मिनेट नभएसम्म यो कुरा हामीले थाहा नपाउने जस्तो देखिएको छ । सन् १९८० को यस्तै छालयुक्त निर्वाचनमा रोनाल्ड रेगन तथा रिपब्लिकन मनोनयनले राष्ट्रपति जिमी कार्टरलाई अत्यधिक मतले पराजित गरिदिएको थियो र डेमोक्र्याटिक पार्टीका तर्फबाट सिनेटमा धेरै उदारवादी सदस्यहरू पराजित भएका थिए । राष्ट्रपति पदको दौड अन्तिम सातासम्म पनि बराबरीको अवस्थामा देखिएको थियो ।
यस छालमा डेमोक्र्याटिक पार्टीले सिनेट पुनः प्राप्त गरे पनि उसका लागि मधुमास लामो हुनेछैन । दुई वर्षमा सिनेटका अर्को एक तिहाइ पदमा पुनः निर्वाचन हुनेछ र रिपब्लिकन पार्टीका भन्दा डेमोक्र्याटिक पार्टीका बढी उम्मेदवारले आफ्नो स्थानको प्रतिरक्षा गर्नुपर्नेछ । यो हालको अवस्थाको ठीक विपरीत हो ।
सहयोगी उम्मेदवारलाई सहयोग गरी क्लिन्टनको अभियान पक्कै पनि कल्याणकारी देखिएको छैन । कङ्ग्रेसमा बढी डेमाक्रे्याट हुँदा उनको प्रशासनलाई बढी सहयोग पुग्छ । डेमोक्र्याटिक पार्टीले सिनेट लिने जस्तो देखिएको छ तर प्रतिनिधिसभामा त्यस्तो देखिएको छैन । त्यहाँ उनीहरूले रिपब्लिकनका ३० स्थान प्राप्त गर्ने देखिँदैन । प्रतिनिधिसभाका प्रायः स्थान सत्ताधारी दलको फाइदाका लागि जिल्लाका सीमा परिवर्तन गरी गेरीम्यान्डरिङ गरिन्छ । १०० स्थान भएको सिनेटमा डेमोक्र्याटिक पार्टीले पुनः बहुमत प्राप्त गरे पनि रिपब्लिकन पार्टीका सदस्यले बाधा सिर्जना गर्ने चुनौति रहिरहन्छ । यस्तो चुनौति हटाउन ६० मत आवश्यक पर्छ । यस्ता बाधा क्लिन्टनको संसदीय प्रस्ताव तथा कार्यकारी तथा सर्वोच्च अदालतका पदमा मनोनयनको अवस्थामा देखा पर्नेछन् ।
क्लिन्टनको अभियान तथा उनका उच्चस्तरीय प्रतिनिधिले डेमोक्र्याटिक पार्टीका आफ्ना प्रतिनिधिहरूलाई सहयोग गर्नुको अन्य महत्वपूर्ण कारण पनि छन् । दुबै दल राज्यस्तरका सकेसम्म बढी पदमा आफ्नो प्रतिनिधित्व प्राप्त गर्न चाहन्छन् । राज्यको गभर्नर पद तथा संसदको कुनै एक सभामा बहुमत प्राप्त गरेमा संसदीय निर्वाचन क्षेत्र कसरी तय गर्ने भन्ने विषय हेर्न पाइन्छ र यो कुरा हरेक दश वर्षमा हुन्छ । निर्वाचन क्षेत्र कसरी तय हुन्छ भन्ने कुराले संसद कसरी निर्माण हुन्छ भन्ने कुरामा प्रभाव पार्छ र यो कुरा हरेक दश वर्षमा हुन्छ । निर्वाचन क्षेत्र कसरी तय हुन्छ भन्ने कुराले संसद कसरी निर्माण हुन्छ भन्ने कुरामा प्रभाव पार्छ र यसले संघीय संसदको भाग्य निर्धारण गर्छ । सिनेटले मात्रै राष्ट्रपतिले गरेको मनोनयनमा मतदान गर्छ ।
राज्यहरूमै दलहरूले आफ्ना भविष्यका संघीय पदाधिकारीका लागि स्थान निर्माण गर्नसक्छन् । रिपब्लिकन पार्टीले राज्यस्तरीय राजनीतिको महत्व डेमोक्र्याटिक पार्टीले भन्दा धेरै पहिले निर्धारण गरेको छ र उसले राज्यहरूमा डेमोक्र्याटिक पार्टीले भन्दा बढी बलियो जग स्थापना गरेको छ । उदाहरणका लागि ओबामाले ओहायोमा गत दुई निर्वाचनमा विजय हासिल गरे पनि यस राज्यको वर्तमान संसदीय प्रतिनिधिमा ७५ प्रतिशत स्थान रिपब्लिकन पार्टीले ओगटेको छ ।
अमेरिकी निर्वाचन हाल अस्थिर मामिला बनेको छ । यस दौडलाई हल्लाउने गरी अर्को के कुरा देखा पर्नेछ भन्ने कुरा कसैलाई पनि थाहा छैन । तर यस्तै कुरा हुनेछ भनी अनुमान गर्नु उचित हुनेछ । कम्तीमा पनि विकिलिक्सका खुलासाहरू निरन्तर हुने अनुमान गरिएको छ । क्लिन्टनलाई केही असजिलो बनाए पनि त्यसले किलन्टन फाउन्डेसनले भ्रस्टाचार गरेको वा हिलरी क्लिन्टनले विदेशमन्त्री हुँदा नीतिगत रूपमा अनुचित काम गरेको देखाएको छैन ।
कोमीले पत्र पठाएको समयसम्म दशौँ लाख अमेरिकी जनताले मतदान गरिसकेका छन् । अनेकौँ खुलासाले हाल र निर्वाचनको दिनमा खस्ने मतमा कस्तो प्रभाव पार्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन । हामीलाई के कुरा थाहा छ भने अन्तमा हालसम्मका र आउँदा कुनै पनि कुराले राष्ट्रपति पदका लागि क्लिन्टनभन्दा ट्रम्प उचित उम्मेदवार हुन् भनि देखाउने छैन ।
(एलिजावेथ ड्र्यु न्यु योर्क रिभ्यु अफ बुक्सका लागि नियमित रूपमा लेख्ने लेखक हुन र उनले हालै “वासिङटन जर्नल : रिपोटिङ वाटरगेट एन्ड रिचर्ड निक्सन्स डाउनफल” लेखेकी छिन् अनुवाद : सुरेन्द्रबहादुर नेपाली) रासस/प्रोजेक्ट सिन्डिकेट