जुम्ला, १७ कात्तिक । नेपाल प्रेस युनियन जिल्ला शाखा जुम्लाका अध्यक्ष एलपी देवकोटाले आफ्नो जन्मदिनको अवसरमा जुम्लाका अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
हाइल्याण्ड जुम्ला बालगृहमा रहेका १० जना अनाथ बालबालिकालाई शैक्षिक सामग्री, फलफूल र लत्ताकपडा वितरण गरिएको हो । जुम्लामा रहेका अनाथ बालबालिकाको लागि सरोकारवाला निकायले सहयोग गर्न नसकेकोले सबैको ध्यान त्यसतर्फ जानुपर्ने भन्दै अध्यक्ष देवकोटाले उनीहरुलाई सानो सहयोग गरेको बताएका छन् ।
कर्णाली अञ्चलका हुम्ला, डोल्पा, मुगु कालिकोट र जुम्लाका १० जना अनाथ असहाय बालबालिकाहरुलाई हाइल्याण्ड बालगृह जुम्लाले राखेको हाइल्याण्डका अध्यक्ष राजु लामिछानेले बताए । उनले सुरुवाति क्रममा रहेकाले कर्णाली अञ्चलका १० जना बालबालिकालाई बालगृहमा राखिएको जानकारी दिए ।
अनाथ बालबालिकालाई आफन्त ठानेर सहयोग गर्नुभएकोमा पत्रकार देवकोटालाई धन्यवाद दिदै जुम्लामा बालगृह सञ्चालन गर्नु चुनौति पूर्ण रहेको अध्यक्ष लामिछानेले बताए ।
चुनौतिका वावजुत पनि बालगृह सञ्चालनमा ल्याएको हाइल्याड बालगृहकी वाडेन सारदा लामिछानेले बताइन् । उनले भनिन्, सानैदेखि वालवालिकाको सेवा गर्ने इच्छा थियो । मैले जुम्लामा अनाथ वालवालिकाको सेवा गर्न पाउदा निकै खुसी लागेको छ ।’
विगत १३ वर्ष देखि पत्रकार देवकोटाले कर्णालीमा वसेर पत्रकारिता गर्दै आएका छन् । आफु २६ वर्ष पुगेको अवसरमा उनले बालबालिकालाई शैक्षिक सामग्री, टिसर्ट र फलफूल वितरण गरेका हुन् ।
प्रकाशित मिति: १७ कार्तिक २०७३, बुधबार १५:०१