काठमाडौँ, १७ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।
नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जी नेपालको राजकीय भ्रमणमा आएका हुन् । उनलाई स्वागत गर्न नेपालकी राष्ट्रपति भण्डारी त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पुगेकी छन् ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न मन्त्रीहरु पनि विमानस्थलमा पुगि भारतीय राष्ट्रपति मुखर्जीलाई स्वागत गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा भारतीय समकक्षीलाई स्वागत गरेकी थिइन् ।
आजै राष्ट्रपति भण्डारीसित भारतीय राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्ने छन् । सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोजको आयोजना गरेकी छन् ।
त्यसैगरी राष्ट्रपति मुखर्जी नेपालका लागि भारतीय राजदूत रणजित रायले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुने छन् ।
भ्रमणको दोस्रो दिन भोलि मुखर्जीले पशुपतिनाथको पूजाअर्चना गर्नेछन् । भोलीनै काठमाडौँ विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने छ ।
भारतका राष्ट्रपति लाई काठमाडौ महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने छ ।
उनी नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई संवोधन गर्ने कार्यक्रम पनि छ ।
राष्ट्रपति मुखर्जी नेपालमा रहँदा राजनीतिक दलका नेताहरुले शिष्टाचार भेट गर्नेछन् ।
यसक्रममा राष्ट्रपति मुखर्जीसित नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसवादी दलका शीर्ष नेतृत्वले शिष्टाचार भेटसमेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतका राष्ट्रपतिले कात्तिक १९ गते जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने र उनको सम्मानमा नागरिक स्वागत कार्यक्रम आयोजना हुनेछ । सोही दिन राष्ट्रपति मुखर्जी पोखराको भ्रमणमा पनि जाने छन् । भारतका राष्ट्रपतिबाट १८ वर्षपछि नेपालको भ्रमण भएको हो ।
यसअघि भारतका राष्ट्रपति के आर नारायणन नेपालको भ्रमण गरेका थिए । यस्तै मुखर्जीको स्वागतको लागि झन्डा तथा तुलहरु चोक चोकमा राखिएको छ । सवारी पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइ झकीझकाउ सजाइएको छ । उहाँको सम्मानमा आजका लागि सरकारले सार्वजनिक बिदा दिइसकेको छ ।
प्रकाशित मिति: १७ कार्तिक २०७३, बुधबार १२:४८