रुकुम, १५ कात्तिक । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले अनुचित ढंगले प्रधानमन्त्री बन्ने षडयन्त्र गरेकोले महाअभियोग लगाउनुपरेको बताएका छन् । कार्कीले आफ्नो अधिकारक्षेत्र नाघेर राज्यको शक्ति नै हातमा लिने र खिलराज रेग्मी जस्तै प्रकृतिको प्रधानमन्त्री बन्ने षडयन्त्र शुरु गरेको मन्त्री शर्माको आरोप थियो ।
नेकपा माओवादी केन्द्र रुकुमले तिहारको सन्दर्भमा सिम्लीमा आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले महाअभियोग प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा समेत गरे ।
आफूहरुको अग्रसरतामा अघि सारिएको कार्की विरुद्धको महाअभियोग प्रस्तावप्रति काँग्रेस सभापति शेर बहादुर देउवा सकारात्मक रहेको उनको भनाई थियो ।
अख्तियार प्रमुख कार्कीले राज्यलाई नै आतंकको भुमरीमा राखेर शक्ति हत्याउने खेल खेलेकोले उनलाई महाअभियोगबाट हटाई आवश्यक सजाय दिलाउने तयारी गरिएको मन्त्री शर्माले बताए ।
नेपालको पानी, जनताको लगानी
उर्जामन्त्री शर्माले जलविद्युत नेपालको विकासको लागि अक्सिजन भएकोले यसको विकास विना देशको उन्नती नहुने तर्क गर्दै भने– “समृद्ध नेपाल निर्माणको लागि विद्युतले अक्सिजनको काम गर्छ” मन्त्री शर्माले भन्नुभयो “विकासको लागि अक्सिजन उत्पादन गर्ने काममा मैले भएभरको शक्ति परिचालन गर्नेछु ।” उर्जा मन्त्रालयको कार्यक्रम नेपालको पानी जनताको लगानी देश विकासको चाहिने अक्सिजन उत्पादन गर्ने फर्मुला भएको उनको जिकिर थियो ।
एक रुपैंया शेयर हाल्नोस् , पाँच बर्षमा दश रुपैंया हुन्छ
मन्त्री शर्माले स्थानीय जनतालाई जलविद्युत क्षेत्रमा शेयर लगानी गर्न आव्हान गर्नुभयो । उहाँले नलसिंहगाड जलविद्युत आयोजनामा एक रुपैंया शेयर हाले त्यो शेयर पाँच वर्षमा दश रुपैंया हुने बताए । नलसिंहगाडमा जनताको शेयर लगानी गर्नको लागि आवश्यक कार्यविधि तयार गरी फाराम पठाउन लागिएको मन्त्री शर्माले जानकारी दिए । “त्यो फाराम आँउछ तपाईहरुले के कति रकम लगानी गर्नसक्नुहुन्छ फाराममा भर्नुहोला” मन्त्री शर्माले भन्नुभयो “त्यस्तो योजनाबाट तपाईहरु सवैलाई धनी बनाउने मेरो योजना छ । ”
चार महिनामा रुकुममा राष्ट्रिय प्रसारण लाईन
उर्जामन्त्री शर्माले अबको चार महिनाभित्र रुकुममा विद्युतको राष्ट्रिय प्रसारण लाईन पुर्याउने प्रतिवद्धता व्यक्त गरे । अहिलेसम्म राष्ट्रिय प्रसारण लाइनमा नजोडिएको रुकुममा स्थानीय माइक्रो हाइड्रोबाट काम चलाउनुपर्ने बाध्यता अन्त्य हुन लागेको उनको भनाई थियो ।
उर्जामन्त्रालयका कर्मचारीहरुलाई चिमोटेर दौडाइरहेको छु
नेपालको व्यूरोक्रेसीले छिटो छरितो विकास गर्न नदिने गरेको दुखेसो पोख्दै उर्जामन्त्री शर्माले आफूले उर्जामन्त्रालयका अधिकारीहरुलाई चिमोट चामट गरेरै भएपनि काममा दौडाएको कहानी सुनाएका थिए ।
मन्त्रीले जति चाँडो काम गर्ने मनसाय राखेपनि कर्मचारीतन्त्रले बीचैमा ब्रेक लगाइदिँदो रहेछ उहाँले भन्नुभयो “तैपनि मैले अलिकति गतिमै कुदाएको छु ।” आफूले जनतालाई कुनै पनि हालतमा निराश हुन नदिने मन्त्री शर्माको प्रतिवद्धता छ । आफु उर्जामन्त्रीको जिम्मेवारीमा रहँदासम्म मेचीदेखि कालीसम्मका जनताको लागि उत्साहको सन्देश छर्ने काममा लागिपर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति: १५ कार्तिक २०७३, सोमबार १२:३३