बाबियाचौर (म्याग्दी), १४ कात्तिक । परिचयपत्र वितरण हुन थालेपछि म्याग्दीका ज्येष्ठ नागरिक उत्साहित भएका छन् । महिला तथा बालबालिका कार्यालयले परिचयपत्र वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक खुसी भएका हुन् । परिचयपत्रको आधारमा यातायात र स्वास्थ्य सेवामा छुट दिने सरकारले घोषणा गरेको छ ।
कार्यालयले हालसम्म म्याग्दीका ९२ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिसकेको छ । ६० वर्ष पुरा उमेर पुगेका जेष्ठ नागरिकलाई प्रत्येक महिनाको २ गते महिला तथा बालबालिका कार्यालयबाट परिचत्रपत्र दिने गरिएको छ ।
परिचयपत्र भएका जेष्ठ नागरिकले यातायात र सरकारी अस्पतालमा उपचार गर्दा पचास प्रतिशत छुट सुबिधा पाउने जेष्ठ नागरिक समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले बताउनुभयो । सीमित मात्रामा परिचयपत्र प्राप्त भएकाले पहिलो चरणमा सदरमुकाम वरपरका जेष्ठ नागरिकलाई मात्र वितरण गरिएको कार्यालयले जनाएको छ । विसं २०६८ मा भएको गणगणना अनुसार एक लाख १३ हजार जनसङ्ख्या रहेको म्याग्दीमा ज्येष्ठ नागरिकको सङ्ख्या आठ प्रतिशत छ ।
सिकाइ उपलब्धि बढाउन कक्षा कोठामा शैक्षिक सामग्री प्रदर्शनी
म्याग्दीका सामुदायिक विद्यालयले कक्षाकोठामा शैक्षिक सामग्री प्रदर्शनी गरेर पठनपाठन गर्न थालेका छन् । हिस्तान, राम्चे, शिख र घारमा रहेका २४ वटा विद्यालयले कक्षा कोठामा प्रदर्शन गरिएको शैक्षिक सामग्री प्रदर्शन गरेर अध्यापन गराउन थालेका हुन् ।
विद्यार्थीमा पढाइप्रति रुची र सिकाइ उपलब्धि बढाउन शैक्षिक सामग्रीको प्रदर्शनी गरिएको आदर्श माविका प्रधानाध्यापक कुमार गर्बुजाले बताए । मावि र उच्च मावि तहबाहेक सबै कक्षा कोठाका भित्ता, झ्यालदेखि बीच भागमा रसी तानेर कागजमा विभिन्न विषयसँग सम्बन्धित चार्ट, चित्र, तथ्याङ्क, बाक्य लेखेर झुन्डाइएको छ ।
प्रदर्शनी गरिएका शैक्षिक सामग्रीले विद्यार्थीमैत्री वातावरण सिर्जना भई विद्यार्थीलाई बुझाउन सजिलो भएको हिमाञ्चल माविका शिक्षक तोयाराम परियारले बताए ।
रासस