फलेवास (पर्वत), १४ कात्तिक । पर्वत जिल्ला अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएको छ ।
विगत एक महिनादेखि औषधिको अभाव हुँदा सर्वसाधारण बिरामीले समस्या खेप्न बाध्य भएका छन् । सरकारले निःशुल्क वितरण गर्ने ज्वरोमा प्रयोग हुने सिटामोल, पखालामा प्रयोग हुने मेट्रानिडाजोल, सङ्क्रमणमा प्रयोग हुने एन्टिबयोटिक एमोक्सिसिलिन लगायत १८ किसिमका औषधिको अभाव भएको छ ।
दमका बिरामीले नियमित सेवन गर्ने साल्वुटामोल चार एमजी, दुखाइमा प्रयोग गर्ने ब्रुफिन, बुस्कोपान, आखाँको औषधि सिप्रोफ्लाक्सिन, जुकाको औषधि अल्वेन्डाजोललगायतका अत्यावश्यक औषधि अस्पतालमा सकिएको जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर सरोजचन्द्र दाहालले जानकारी दिए ।
अहिले स्लाइन र गर्भवती महिलालाई निःशुल्क वितरण गरिने आइरन चक्कीको समेत अभाव भएको उनले बताए । सरकारले अत्यावश्यक ७२ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भनिए पनि जिल्ला अस्पतालमा मुस्किलले ३० प्रकारका औषधि मात्रै वितरण हुने गरेको छ । जिल्ला अस्पतालमा औषधिको स्टोर रित्तिन थालेपछि बिरामीलाई निजी क्लिनिकमा औषधि किन्न पठाइने गरिएको छ ।
गत वर्ष ढिलो गरी औषधिको टेन्डर पठाएका कारण अहिले सम्म औषधि आयात हुन नसकेको डाक्टर दाहालले जानकारी दिए ।
मुटुरोग परीक्षण शिविरमा बिरामीको भीड
दुर्गम बस्तीमा पुगेर मुटुरोगको परीक्षण गर्ने अभियानका क्रममा पर्वतमा शनिबार निःशुल्क मुटुरोग परीक्षण गरिएको छ ।
धौलागिरि अञ्चलका दुर्गमबस्तीका बासिन्दाको मुटुसम्बन्धी समस्या परीक्षण गर्ने र उनीहरुको निःशुल्क उपचार गर्ने उद्देश्यसहित दुई दिने शिविर सञ्चालन गरिएको हो ।
पर्वतमा क्रियाशील पाँच वटा लायन्स क्लबको आयोजना र मुटु बचाउ अभियानलगायतका संस्थाको सहयोगमा सञ्चालित दुर्गम बस्तीका लागि लक्षित शिविरमा पहिलो दिनमा ६०० भन्दा बढीको परीक्षण गरिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा आएको टोलीले बिरामीको परीक्षण गरिरहेको छ ।
शिविरमा सबैभन्दा बढी ब्लड प्रेसरका बिरामी भेटिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा भट्टराईले जानकारी दिए । पहिलो दिन परीक्षण गरिएका बिरामीमा दुई जना मुटुमा प्वाल परेका बिरामी फेला परेका छन् भने १० जनाभन्दा बढी भल्ब बिग्रेका बिरामी भेटिएका छन् ।
मुटुरोगीको उपचारभन्दा पनि परीक्षणका लागि शिविर आयोजना गरिएकाले धेरैभन्दा धेरै सर्वसाधारणको मुटु परीक्षण गरिने वरिष्ठ मुटुरोग विशेषज्ञ डा भट्टराईले बताए । मुटु बचाउ अभियानले मुटुरोगका बारेमा जनचेतना जगाउने, विभिन्न २० स्थानमा शिविरबाट परीक्षण गर्ने तथा गम्भीर खालका बिरामीलाई विदेशमा पठाएर समेत उपचार गराउँदै आएको उनले जानकारी दिए । रासस