काठमाडौ १४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको विषयमा दलहरू सहमतिनजिक पुगेको बताएका छन् । संविधानको सबैभन्दा विवादित विषय बनेको सीमांकनमा समेत दलहरू सहमतिनजिक पुगेको प्रधानमन्त्री दाहालले प्रस्ट पारेका हुन् ।
प्रधानमन्त्री दाहालले प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग संविधान संशोधनका लागि सीमांकन, भाषा, राष्ट्रिय सभा तथा नागरिकताको विषयमा भइरहेको छलफल सकारात्मक ढंगले अघि बढेको जानकारी दिए । ‘सात प्रदेशभित्र केही सीमांकन हेरेफर गरेर त्यसमा सबै सहमत हुने गरी छलफल भइरहेको छ,’ प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारसँग शनिबार दाहालले भने, ‘अहिलेसम्मको छलफलबाट सहमतिनजिक पुगेको महसुस गरेको छु ।’ प्रधानमन्त्री दाहालले नागरिकताको प्रावधानलाई अन्तरिम संविधानको मर्मअनुरूप नै बनाउने सहमति गरेको समेत बताएका छन् । यस्तै, भाषासम्बन्धी विवादलाई भाषा आयोगको प्रतिवेदनअनुसार संविधानको अनुसूचीमा राखेर अघि बढ्न दलहरू सकारात्मक भएको प्रधानमन्त्रीले प्रस्ट पारे ।राजधानी दैनिकमा खबर छ ।
तीन दलमा छलफल भएरै महाअभियोग
प्रधानमन्त्री दाहालले प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल भएरै अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव अघि बढेको प्रस्ट पारेका छन् । ‘महाअभियोग दर्ता हुनुअघि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र म बसेका थियौं, अहिले पनि मेरो जोड हामी समझदारीकै आधारमा अघि बढ्नुपर्छ भन्नेमा छ ।’
दाहालले महाअभियोगको प्रस्ताव समझदारीबाटै टुंग्याउनुपर्छ भन्नेमा आफू लागेको पनि प्रस्ट पारे । ‘तीनै दलको छलफलपछि सहमतिमै महाअभियोग प्रक्रिया अघि बढेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘मेरो कोसिस भने त्यसमा राष्ट्रिय समझदारीका साथ अघि बढौं भनेर लागेको छु । महाअभियोगको विषयमा जे गर्नुछ, त्यसमा दलहरूमा सहमति होस् र समझदारीबाटै हल गनुपर्छ ।’ प्रधानमन्त्री दाहालले देशको कार्यकारी प्रमुख राजकीय भ्रमणमा गएको बेला पत्रकार सम्मेलन गरेर प्रचारबाजी गर्नु अस्वाभाविक जस्तो भएको भए पनि शिविर काण्डकै कारण उनलाई महाअभियोग नलगाइएको समेत स्पष्ट पारेका थिए ।दाहालले महाअभियोगले दलहरूमा अविश्वासभन्दा पनि चुनौतीसँगै सहमतिको वातारण निर्माण हुन थालेको बताए ।
दाहालले पछिल्लो पटकको दलहरूबीचको संवाद सुखद भएको र संविधान कार्यान्वयनसँगै सुखद संवादको रूपमा आफूले लिएको बताए । उनले दलहरूबीच सहमति नबनेमा राष्ट्रिय एकता पनि नहुने र संविधान कार्यान्वयनमा समेत अप्ठ्यारो पर्ने कारण औंल्याएका थिए ।
चैतभित्रै स्थानीय निर्वाचन
प्रधानमन्त्री दाहालले सरकारले चैतभित्रै स्थानीय तहको निर्वाचन गराउन लागिपरेको जानकारी दिएका छन् । छोटो समयमै तीनवटा निर्वाचन गराउनुपर्ने भन्दै दाहालले सरकार चैतमा स्थानीय तहको निर्वाचन गराउनेमा लागेको बताएका हुन् ।
‘सकेसम्म यसै महिनाको अन्तिमसम्म आयोगको प्रतिवेदन आइदिए हुन्थ्यो भन्नेछ भने त्यसका निम्ति सबै सहयोग गर्न सरकार लागिरहेको छ, आयोगले छिटोभन्दा छिटो प्रतिवेदन बुझाओस् भन्नका लागि सरकारले सबै सहयोग गर्न लागेको छ, सकारात्मक वातारण बनाउन लागेको छ,’ दाहालले भने, ‘त्यसैगरी निर्वाचन आयोगले चार महिनाको समय भनेको छ, त्यसै अन्तर्गत मंसिर, पुस, माघ र फागुन चार महिना बीचमा राख्न पाइयो भने चैतमा स्थानीय तहको निर्वाचन गर्न सकिन्छ ।’
चिनियाँ राष्ट्रपति आउँछन्
प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङले आफू नेपाल आउँछु भनेको बताएका छन् । ‘मैले नेपाल भ्रमणका लागि निम्ता गरेको हुँ, उहाँले म तयारी गरेर आउँछु भन्नुभएको छ, तर समय नै भने तोकिएको छैन,’ दाहालले भने । प्रधानमन्त्री दाहालले भारतको गोवामा नै चिनियाँ पक्षले दुई देशीय समझदारी गरौं भन्ने प्रस्ताव आएको समेत बताएका छन् ।
चिनियाँ पक्षले गोवामा नै दुई पक्षीय समझदारी गरौं भन्ने प्रस्ताव गरेका थिए, तर मैले कि नेपालमा गरौं कि बेइजिङमा गरौं भनेपछि नगरिएको हो,’ उनले भने । पुनर्निर्माणसम्बन्धी सम्झौता, सडक तथा रेल्वेलगायत विकास निर्माणसम्बन्धी सम्झौता हुन खोजिएको समेत उनले स्पष्ट पारे । दाहालले गोवासम्म पुग्दा छिमेकीसँगको सम्बन्ध त्रिपक्षीय रणनीति उचाइमा पुगेको महसुस भएको दाबी गरे । गोवामा तीन नेताबीच करिब ४० मिनेट भेट संयोगमा भए पनि नचाहेर नभएको समेत बताए । प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको आवश्यक तयारी सरकारले गरिरहेको भन्दै सार्वजनिक बिदाको विषयमा अनावश्यक टीकाटिप्पणी भएकोप्रति दुःख व्यक्त गरे ।
‘यो विषय परराष्ट्र मन्त्रालय, राष्ट्रपति कार्यालयदेखि सत्तामा भएका सबै पार्टीसँग छलफल गरेर र परम्पराको ख्याल गरेरै ल्याइएको हो,’ दाहालले भने, ‘यसले छिमेकी राष्ट्रप्रमुखको सम्मान तथा नेपाल भारत सम्बन्धलाई अझ सकारात्मक बनाउन सहयोग पु¥याउँछ भने अर्को सहायक कारणका रूपमा ट्राफिक व्यवस्थापनमा समेत सहयोग पु¥याउँछ ।’ उनले धेरै लामो समयपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको भन्दै चीनबाट पनि त्यस्तै भ्रमणको अपेक्षा गरेको बताए ।
प्रकाशित मिति: १४ कार्तिक २०७३, आईतवार ०५:४६