कञ्चनपुर, १३ कात्तिक । आधुनिक कृषि उपकरणतर्फ कञ्चनपुरका किसानको आर्कषण बढ्न थालेका छन् ।
कृषिमा व्यवसायीकरण हुन थालेपछि कृषि उपकरणको प्रयोगमा बृद्धि भएको हो । धान र गँहु काटन, थ्रेसिङ गर्न, उखु लगाउन, तरकारीखेती गर्न, खेत जोत्नका लागि पावर टिलर, रिपर, ट्याक्टर, थ्रेसरलगायतका आधुनिक उपकरणको प्रयोगमा निकै बृद्धि भएको कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताए ।
चालिस प्रतिशत भन्दा बढी किसानले आधुनिक उपकरणको प्रयोग गर्न थालेका छन” उनले भने । व्यवसायिक तरकारी र अन्यखेतीमा संलग्न किसानले कार्यबोझ घटाउन र पैसाको बचत गर्न आधुनिक कृषि उपकरणको प्रयोगलाई आत्मसात गर्दै आएको उनले बताए । श्रमिक लगाएर धेरै दिन र समयमा हुने कार्य कृषि उपकरणको सहायताले एक छिनमै सकिने भएकाले किसानको आर्कषण यसतर्फ बढेको उनको भनाई छ ।
धान र गहुँ काटने र चुटने उपकरणको प्रयोगमा व्यापकता आएपछि महिलाको कार्य बोझ निकै घटेको दैजीका किसान रमेश पाण्डेयले बताए ।
“एक घन्टामै एक बिगाहा खेतको धान, गहँु काटने उपकरण आएपछि कृषि कार्य गर्न निकै सहज भएको छ उनले भने ।” कृषि उपकरणको प्रयोगमा व्यापकता आएपछि गोरु जोत्ने प्रचलनमा समेत केही वर्षयतादेखि निकै कमी आएको छ ।
कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा त्यस्ता कृषि उपकरण उपलब्ध गराउँदै आएका छन् । धेरै किसानले आफनै निजी लगानीमा पनि ट्याक्टर, पावर टिलर र थे्रसर खरिद गरी प्रयोगमा ल्याएका छन् ।
कृषि उपकरण खरिद गर्न नसक्ने किसानले भाडामा समेत त्यस्ता उपकरणको प्रयोग गर्दै आएका छन ।
रासस