बनेपा, १३ कात्तिक । काभ्रेपलाञ्चोकमा उत्पादन हुने फूल (पुष्प) ले काठमाडौँको २० प्रतिशत माग धानेको छ ।
सयपत्री, मखमली र गोदाबरी फूलले काठमाडौँको २० प्रतिशत माग धानेको फ्लोरिकल्चर एसोसियसन नेपाल काभ्रेपलाञ्चोकका अध्यक्ष भोजराज तिमल्सिनाले जानकारी दिए ।
उनले काठमाडौँमा भौतिक पूर्वाधारको अभावले पुष्प व्यवसाय घट्दो भएको उल्लेख गर्दै काभ्रेपलाञ्चोकमा जग्गा पनि प्रशस्त भएको र भौतिक पूर्वाधार पनि भएकाले फूलमा आत्मनिर्भर हुन लागेको बताए ।
“यहाँ फूलको थोकबजार नभएकाले जिल्लामा कति फूल खपत हुन्छ भन्ने तथ्याङ्क छैन”– उनले भने ।
युनिक फ्लोरा फार्मका सञ्चालकसमेत रहनुभएका तिमल्सिनाले काभ्रेपलाञ्चोकमा व्यावसायिक रुपमा कार्नेसन, जर्वेरा, गुलाब, ट्यरोज, तरबारेलगायत करिब १० प्रजातिका फूलको उत्पादन भइरहेको बताए ।
उनले व्यावसायिक पुष्प खेतीमा रु पाँचदेखि रु ५० लाखसम्म लगानी रहेको जानकारी दिँदै विगतको तुलनामा पुष्प खेती गर्ने बढ्दै गएको बताए ।
अध्यक्ष तिमल्सिनाले उच्चस्तरीय टनेल प्रविधि जिल्लाको उग्रतारा जनगाल गाविसको वडा नं ३ मा फूलबारी कृषक समूहको रुपमा रहेको उल्लेख गर्दैै उच्चस्तरीय टनेल प्रविधिमा थोपा सिचाइँ जडित कीरा छिर्न नदिने तर हावा छिर्न दिने व्यवस्था गरिएको र आवश्यक परे तातो वा चिसो पनि बनाउन सक्ने प्रविधि हो भने ।
फूलमा भएको व्यावसायिकीकरणले उच्च प्रविधि भित्रिएको उल्लेख गर्दै उनले यसबाट व्यावसायिक रुपमा आम्दानी भइरहेको बताए । व्यावसायिक फूलखेती गरेका कृषकले कट फ्लावर र सिजनल फूलबाट वार्षिक रुपमा रु १० देखि ५० लाख आम्दानी गर्ने गरेका छन् ।
रासस