काठमाडौं, १२ कार्तिक, नयाँ संविधान अनुसार संघीय शासन व्यवस्थामा नेपाली प्रहरी संगठनको पुनर्संरचनाका लागी गठित कार्यदलले तयार पारेको मस्यौंदा माथी गृहमन्त्रालयमा आज छलफल भएको छ ।
पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलले तयार पारेको मस्यौदामाथी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको उपस्थितीमा कार्यदलमा रहेका सदस्यहरुबीच प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाह, सहसचिवहरु कृष्णबहादुर राउत र चक्रबहादुर बुढा गृह मन्त्रालयबाट र सुधीरकुमार शाह विज्ञ बीच छलफल भएको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।
दाहालका अनुसार छलफल पछि निधिले संविधानमा उल्लेख भए बमोजिम प्रहरी संगठनको रुपान्तरणका लागी र विकासमा आवश्यक पर्ने ऐनहरुको तर्जुमा यथासिघ्र सक्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिए । आजको छलफलमा शसस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई लगायत सुरक्षा निकायका अधिकारीहरुको सहभागिता रहेको थियो ।
राष्टिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, संघीय राजधानी महानगरीय प्रहरी, नेपाल प्रहरी अस्पताल, केन्द्रीय अनुसन्धान व्यूरो, विशेष व्यूरो, लागू औषध नियन्त्रण व्यूरो, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, नेपाल प्रहरी उच्च मावि आवासीय विद्यालय र नेपाल प्रहरी बैण्ड नेपाल प्रहरीको केन्द्रीय निकायका रुपमा रहने मस्यौंदामा उल्लेख छ ।
मुलुकभरको शान्ति सुरक्षाको स्थितिको रेखदेख, नियन्त्रण, अनुगमन, मूल्याकन तथा विश्लेषण गर्ने देखि संघीय गृह मन्त्रालयलाई आन्तरिक सुरक्षा सम्बन्धी राय सुझाव उपलब्ध गराउने नेपाल प्रहरीको कार्यक्षेत्र र जिम्मेवारीभित्र पर्छ ।
त्यसैगरी आतंककारी कारबाही, धार्मिक तथा साम्प्रदायिक दंगाहरुमा केन्द्रीय प्रहरी विशेष कार्यदलक परिचालन गर्ने, विशेष प्रकृतिका प्रहरी कारबाहीमा परिचालन हुने, अतिविशिष्ट तथा विशिष्ट व्यक्तिलाई सुरक्षा प्रदान गर्ने, राष्टिय विपदमा उद्दार तथा राहत व्यवस्थापन गर्ने,अन्तर्राराष्ट्रिय विमानस्थल, राष्ट्रिय राजमार्ग, रेलमार्ग, जलमार्ग यातायातको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यक्षेत्र र जिम्मेवारी पनि नेपाल प्रहरीकै हुने छ ।
यस अलवा, अन्तर्राष्ट्रिय सीमा, आप्रवासन तथा प्रवासन नियमन सम्बन्धी सुरक्षा कार्य गर्ने, अन्तरर्राष्ट्रिय संगठित अपराधको रोकथाम,प्रतिकारबाही तथा अनुसन्धान, प्रहरी परचालन तथा कारबाही सम्बन्धी मापदण्ड निर्धारण, संयुक्त राष्टसंघीय मिशनको लागि प्रहरी कर्मचारी छनोट लगायत केन्द्रीय सरकारले तोकेका शान्ति सुरक्षा सम्बन्धी अन्य कार्य पनि यसैको जिम्मेवारीमा पर्छ ।
प्रकाशित मिति: १२ कार्तिक २०७३, शुक्रबार १७:४१