सुर्खेत, १२ कात्तिक ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले शान्ति सुरक्षालाई असर पर्ने कुनै क्रियाकलाप नगर्न आग्रह गरेको छ। तिहार नजिकिएसंगै अपराधिक क्रियाकलाप हुने र देउसीभैलोको नाममा अराजक, उच्शृङखल गतिविधि हुने भन्दै त्यस्ता क्रियाकलाप नगर्न र गर्न नदिनसमेत जिल्ला प्रशासन कार्यालय सुर्खेतले आग्रह गरेको छ । सार्वजनिक सूचना जारी गर्दै कार्यालयले शान्ति सुरक्षामा खलल पुग्ने खालका गतिविधि रोक्न आग्रह गरेको हो ।
तिहारलाई शान्तिपूर्ण रुपमा मनाउन आग्रह गर्दै कार्यालयले सबैले तिहार शान्तिपूर्ण बनाउन सहयोग गर्न आग्रह गरेको छ । तिहार कै नाममा जिल्लाको शान्ति सुरक्षामा प्रतिकुल असर पर्ने क्रियाकलाप हुनसक्ने भन्दै कार्यालयले त्यस्ता क्रियाकलापमा संलग्न हुने र संलग्न गराउनेलाई प्रचललित कानुन बमोजिम कार्वाही गरिने जनाइएको छ ।
तिहारमा रातको समयमा जाँड,रक्सी खाने,होहल्ला गर्ने, झैझगडा गर्ने इतिहास नदोरियोस भन्दै जिल्ला प्रशासनले ध्यानाकर्षण समेत गराएको छ ।यो वर्षको तिहार राती १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ । त्यसभन्दा पछिको समयमा देउसीभैलो खेल्दा अराजक क्रियाकलापहरु हुनसक्ने भएकोले शान्ति सुरक्षालाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले राती १० बजेसम्म मात्रै देउसीभैलो खेल्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी गरेको सूचनामा भनिएको छ–‘विभिन्न साँस्कृतिक कार्यक्रम रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षालाई दृष्ट्रिगत गरी देउसी भैलो लगायत साँस्कृतिक कार्यक्रमहरु राती १० बजेसम्म मात्रै गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेत सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।’
यस्तै कार्यालयले तिहारमा भुइचम्पा,पटका र आतिसवाजीहरु जस्ता पटकाजन्य बस्तुहरुको प्रयोगले सर्वसाधारणको स्वास्थ्यमा असर पर्ने, चोट लाग्ने तथा आगलागी भई जनधनको क्षति हुने भएकोले यस्ता बस्तुको पनि प्रयोग नगर्न आग्रह गरेको छ । साथै यस्ता बस्तुहरुको उत्पादन, आयात,निर्यात नगर्न भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले बालबच्चालाई यस्ता बस्तुहरुबाट टाढै राख्न अभिभावकहरुलाई आग्रह गरेको छ । प्रशासनको निर्देशनलाई अटेर गरी यस्ता गतिविधिहरु भएको खण्डमा प्रचलित कानुन अनुसार कार्वाही गरिने जनाइएको छ ।
प्रकाशित मिति: १२ कार्तिक २०७३, शुक्रबार १७:३४