काठमाडौँ, १० कात्तिक । हस्पिटालिटी क्षेत्रमा व्यावसायिक सीप र नेतृत्वदायी क्षमता कसरी अभिवृद्धि गर्ने भन्नेबारे सरोकारवालालाई अभिमुखीकरण गराइएको छ ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले आज यहाँ आयोजना गरेको एक दिने कार्यशालामा लामो दूरी र विश्वव्यापी नेतृत्व ‘लङ डिस्टेन्स एन्ड ग्लोबल लिडरसीप’ शीर्षकमा स्विट्जरल्यान्डका विज्ञ डानियल चुडीले प्रशिक्षण दिएका हुन् ।
होटल व्यवसायी, एयरलाइन्स, ट्राभल एजेन्सी, टूर अपरेटर्स, सञ्चारकर्मी तथा विद्यार्थी सहभागी सो कार्यक्रममा विश्व व्यावसायिक बजारका नयाँ आयाम र हस्पिटालिटी क्षेत्रको विधि विधामा विशेष गरि सांस्कृतिक मूल्य, मान्यता र विविधताको विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले पर्यटन व्यवसाय, विश्वव्यापी उद्योग र विविध स्रोत, साधन र संस्कृतिसँगको अन्तक्र्रिया तथा पारस्परिक सम्बन्धको विषय भएकाले उपयोगी हुने बताए । पाटा नेपालका कार्यकारी प्रबन्धक सुरेशसिंह बुडालले पाटाले नेपाली पर्यटन क्षेत्रमा मानव संशाधनको विकास र विस्तार गर्ने अभियानअन्तर्गत युवा पुस्तामा नेतृत्वदायी विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए ।
लामो दूरीको नेतृत्व र विश्वव्यापी नेतृत्व गरी दुई विधामा केन्द्रित गोष्ठीमा चुडीले प्रशिक्षण दिएका थिए । उनले व्यावसायिक दौरानमा नेतृत्वकर्ता र सरोकारवालाबीच सहजकर्ताको रुपमा समयसापेक्ष र सांस्कृतिक व्यवहार पिच्छे फरक पर्ने जटिल कार्यलाई व्यवस्थापन गर्न बहुसांस्कृतिक विश्वमा समानान्तर नेतृत्व विकासका लागि लामो दूरीको नेतृत्व उपयोगी हुने बताए ।
उनले विश्वभरिनै राष्ट्रिय तथा क्षेत्रीयरुपमा भइरहेका राजनीतिक, आर्थिक, धार्मिक, मुद्दा व्यापार व्यवस्थापनका लागि चुनौती बनिरहेको चुनौतीपूर्ण अवस्थामा सांस्कृतिक विज्ञताको विकासका लागि विश्वव्यापी नेतृत्व आवश्यक भएको बताए । रासस