काठमाडौ १० कात्तिक । सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा बुद्ध एअरको जहाज चार्टर गरी जनकपुर र पोखरा घुमाउने भएको छ । मुखर्जीले आगामी कात्तिक १७ देखि १९ गतेसम्म नेपाल भ्रमण गर्दैछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुखर्जीलाई जनकपुर र पोखरा भ्रमणमा लान बुद्ध एअरको जहाज चार्टर गरेको छ ।
सरकारले बुद्ध एयरको २ वटा जहाज कात्तिक १९ गते दिनभरका लागि चार्टर गरेको छ । पर्यटन मन्त्रालयको हवाइ उड्डयान महाशाखाका सह(सचिव बुद्धि लामिछानेका अनुसार सरकारले बुद्ध एयरको यात्रु बोक्ने क्षमता धेरै रहेकाले उसकै जहाज लिने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार सरकारले एक दिनका लागि बुद्धको एटिआर ४२(३२० जहाज चार्टर गर्नेछ । मन्त्रालयले २ वटा जहाज चार्टर गर्न खोजे पनि बुद्धले अर्को एउटा जहाज पनि ’स्ट्यान्डबाई’ राखिदिने भएको छ । बुद्ध एयरका एक कर्मचारीका अनुसार चार्टर गरिएका २ वटा जहाजमध्ये कुनै एकमा खराबी आएमा तत्काल उडाउनका लागि अर्को जहाजलाई पनि तयारी अवस्थामा राखिनेछ ।
बुद्धले एक दिन चर्टरको लागि सरकारसमक्ष ३३ हजार अमेरिकी डलर (करिव ३५ लाख ३१ हजार रुपैयाँ) प्रस्ताव गरेको थियो । तर मन्त्रालय १५ प्रतिशत ’डिस्काउन्ट’ गर्न भनेपछि उसले २८ हजार डलर (२९ लाख ९६ हजार रुपैयाँ) मै चार्टर उडान गरिदिने तय भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
बुद्ध एयरले कात्तिक १९ मा राष्ट्रपतिको लागि जनकपुर र पोखराको लागि चार्टर गर्ने जनाएको छ । सरकारलसँग बुद्धले कात्तिक १९ गते बिहान ७ बजेदेखि बेलुकीसम्मको समय चार्टर गर्ने सम्झौता गरेको छ । बुद्धका कर्मचारी भन्छन्न्, ’हुन त राष्ट्रपतिको जनकपुर भ्रमण १० बजे भनिएपनि हामीले ७ बजेदेखि नै जहाज तयारी अवस्थामा राखेर सुरक्षाकर्मीलाई हस्तान्तरण गर्नुपर्छ ।’
उक्त दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाहरुको उडान प्रभावित हुने मन्त्रालयले जनाएको छ । भारतीय राष्ट्रपति भारतबाट इन्डियन एयर फोर्समा आउने र नेपालको जनकपुर र पोखरामा भने बुद्ध एयरबाट गर्ने तालिका छ । राष्ट्रपति १९ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी भएर पोखरा जानेछन् भने पोखराबाट काठमाडौं फर्किएर सोही दिन नयाँ दिल्ली फर्कने कार्यक्रम छ ।
प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार ०६:२४