भीमदत्तनगर, ९ कात्तिक । खाद्य संस्थानले सुदूरपश्चिममा बिक्री गर्ने कुल चामलको ५५ प्रतिशत बाजुरामा खपत हुने गरेको छ ।
सुदूरका अन्य जिल्लाको तुलनामा खाद्य सङ्कट बढी हुने बाजुराका दुईवटा बिक्री केन्द्रबाट वार्षिक २० हजार क्विन्टल चामल बिक्री वितरण हुने गरेको छ । नेपाल खाद्य संस्थान सुदूरपश्चिम क्षेत्रीय कार्यालय धनगढीका वरिष्ठ लेखा सहायक गङ्गादत्त पन्त वार्षिक रुपमा सुदूरका पाँच पहाडी जिल्लामा बिक्री केन्द्रमार्फत करिब ३० हजार क्विन्टल चामल खपत हुने गरेको बताउछन्।
बझाङ सदरमुकाम चैनपुरमा रहेको बिक्री केन्द्रबाट न्यून चामल खपत हुने गरेको छ । चैनपुरमा व्यापारीले संस्थानको भन्दा सस्तोमा चामल बिक्री गर्ने गरेका छन् । चैनपुरबाट वार्षिक एक हजारदेखि एक हजार २०० क्विन्टल चामल बिक्री हुन्छ । पछिल्ला वर्षमा सवारी साधनको पहुँच बढेसँगै बझाङ, अछाम, दार्चुला, बैतडीमा संस्थानको चामल कम खपत हुँदै गइरहेको छ ।
नेपाल खाद्य संस्थानले दार्चुला, अछाम र बझाङमा तीन–तीनवटा र बैतडी र बाजुरामा दुई–दुईवटा बिक्री केन्द्रमार्फत चामल बिक्री वितरण हुँदै आएको छ । “दुई÷तीन वर्षयता बिक्री वितरणमा कमी आएको छ,” पन्तले भने । सुदूरपश्चिमका लागि सुरुवातमा २० हजार क्विन्टल चामल खरिदका लागि कोटा आउने गरेको थियो । हाल खाद्य संस्थानको क्षेत्रीय कार्यालयमा १३ हजार क्विन्टल चामल मौज्दात छ ।
“सुदूरपश्चिममा खाद्य सङ्कट छैन,” उनले भने । संस्थानले पहाडी जिल्लामा निर्यातका लागि कैलाली, कञ्चनपुर, बर्दिया, बिर्तामोडलगायतका ठाउँबाट बर्सेनि चामल खरिद गर्दै आइरहेको छ । रासस