चितवन, ९ कात्तिक । जाडो छल्न उत्तरी क्षेत्रका चरा बसाइँ सरेर नेपालको बेँसी झर्न थालेका छन् । नेपाल पक्षीविद् सङ्घका अनुसार हिमाली क्षेत्र र उच्च उचाइमा बस्ने चरा जाडो छल्न तल्लो सतहमा आउन थालेका हुन् ।
जुलोजिकल सोसाइटी अफ लन्डनका नेपाल प्रतिनिधि तथा नेपाल पक्षीविद् सङ्घका अध्यक्ष डा हेमसागर बरालका अनुसार अहिले दक्षिणबाट आएका चरा फर्कने र उत्तरी क्षेत्रबाट चरा आउने क्रम चलिरहेको छ । उनका अनुसार जाडोमा आउने करिब ७० प्रतिशत चरा नेपाल भित्रिसकेका छन् ।
तिब्बत, चिन, मङ्गोलिया, साइबेरिया, काजकिस्तानलगायत पूर्वी युरोपबाट समेत केही चरा यो समयमा नेपाल आउने बरालको भनाइ छ ।
आएका चरा चैत वैशाखमा फर्कने र फेरि दक्षिणका चरा आउने क्रम चल्छ । अहिले आउनेमा जलमा आश्रित चरा हुन् ।
“नेपालमा चार प्रजातिका हाँसमात्रै रैथाने छन्, बाँकी १५, २० प्रजातिका हाँस यो समयको आगन्तुक नै हुन्”, डा बराल भन्छन् – “नेपालको घाँसे मैदान, जल तथा जमिन सबै क्षेत्रमा बस्ने चरा बसाइँ सरेर आउने गरे पनि बढी जलाशयमा बस्ने चरा भने जाडो छल्न आउँछन् ।”
असोजबाट नै चरा बसाइँ सर्न थालेको र अहिले यो क्रम तीव्र बनेको नेपाल पक्षीविद् सङ्घका मध्यमाञ्चल संयोजक तथा बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष बासु बिँडारी बताउछन्।
जाडो समयमा चितवनलगायत नेपालको तल्लो तहमा उनीहरु जाडोमा समय बिताउने गर्छन् । चखेवा, कालो गरुड, सेतो गरुड, ग्रिन स्याँक, प्लोभर, खोया हाँसलगायतका चरा बसाइँ सरेर आइसकेको अध्यक्ष बिँडारीको भनाइ छ ।
खोया हाँस उच्च हिमाल नाघेर आउने गरेको छ । यी चरा मुख्यगरी चार हजार मिटरभन्दा माथिका हुन् । हिमाली क्षेत्रबाट बसाइँ सरेर आएकामध्ये धेरै चरा समुद्र सतहबाट ८० देखि २०० मिटरको हाराहारीमा आएर बस्ने चरा हुन् ।
चितवन लगायत तराई क्षेत्रमा अहिले कालीगण्डकी हुँदै चरा आइरहेका छन् । आएका चरा चितवनको राप्ती, नारायणी, कर्णाली र कोसी नदीमा पुग्छन् । लाङ्टाङ क्षेत्रबाट बढी चरा आइरहेको विज्ञ बिँडारी उल्लेख गर्छन्। यो समयमा करिब १५० देखि १८० प्रजातिका चरा बसाइँ सरेर तल्लो तहमा आउने गरेका छन् ।
जाडो छल्ल हिमालमा पाइने चरा मध्य भागमा र मध्य भागका चरा तल्लो तहमा झर्छन् । चराको बसाइँ–सराइ अवलोनका लागि विदेशीसहित नेपाली चरा विज्ञहरु पश्चिम नेपालको अस्ट्रेलियन बेसक्याम्प ठूलो खर्क भन्ने स्थानमा पुगेका छन् ।
जाडो छल्न आउने चराको अवलोकनका लागिसमेत पर्यटक आउने गरेका छन् । जैविक विविधता सन्तुलनको अवस्था चराको उपस्थितिले जानकारी पाउन सकिने चरा विज्ञहरुको भनाइ छ ।
नेपालमा अहिलेसम्म ८८४ प्रजातिका चरा फेला परेका छन् । तीमध्ये ६३२ प्रजातिका चरा चितवनमा पाइएका छन् । त्यसैले चितवन राष्ट्रिय निकुञ्ज, यहाँको संरक्षित ताल, नारायणी र राप्ती नदी तथा पहाडी क्षेत्र चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य मानिन्छ ।
चितवन निकुञ्जमा जङ्गली जनावर अवलोकनका साथै चरा अवलोकनका लागि समेत ठूलो धनराशि खर्चेर विदेशबाट पर्यटक आउने गरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउछन् । तर चरा पर्यटनको नेपालमा पर्याप्त सम्भावना भए पनि सरकारी तहबाटै विशेष योजनाका साथ अघि बढ्नुपर्ने चरा विज्ञ डा बराल बताउछन् ।
सरकारी पहल प्रभावकारी नभए पनि पर्यटक नजानिँदो रुपमा चरा अवलोनका लागि आउने गरेको उनको भनाइ छ ।
सौराहास्थित क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनाल चितवनमा चराको पर्यटनको सम्भावना राम्रो रहेको बताउछन् । रासस