कला बुझ्ने वा कलामा नै रुचि भएका व्यक्ति भए जानुभएकाे हुन सक्छ तर कलाका विषयमा सामान्य रुचि मात्रै भए तपाईं अहिलेसम्म ग्यालरी नजानभएकाे हुन सक्छ । धेरैलाई कहिले र कुन गयालरीमा फोटो प्रदर्शनी हुन्छ समेत जानकारी नहुन सक्छ ।
यदि तपाईं तस्बिरमा रुचि राख्नुहुन्छ र अहिलेसम्म ग्यालरी जानुभएको छैन भने पाटनमा जारी तस्बिर महोत्सव तपाईंका लागि अवसर हुन सक्छ । सर्वसाधारण नागरिकलाई लक्ष्य गरेर पाटनका १२ स्थानमा ‘तस्बिर महोत्सव’ सुरु भएको छ । फोटोग्राफीकै क्षेत्रमा क्रियाशील ‘फोटो सर्कल’ का आयोजनामा पाटनका टोल टोलमा खु्ला स्थानमा भइरहेको तस्बिर प्रदर्शनी यही कात्तिक ५ गतेदेखि कात्तिक १८ गतेसम्म चल्नेछ ।
सबै उमेर, पेसा र क्षेत्रका व्यक्तिले तस्बिर अवलोकन गर्न पाऊन् भनेरै खुल्ला स्थानमा महोत्सवको आयोजना गरिएको फोटो सर्कलका सहव्यवस्थापक भूषण शिल्पकारले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्यालरीमा फोटो प्रदर्शनी हेरेर पनि केही सिकिन्छ भनेर धेरैले बुझ्नु पनि आफैँमा महत्वपूर्ण कुरा हुनेछ ।”
पाटन दरबार स्क्वायर, च्यासल, मत्स्येन्द्रबहाल, सौगल, टङ्गल, सुन्धारा, बुङ्गमती लगायत स्थानमा तस्बिर प्रदर्शनी भइरहेको हो । मुलुक शान्ति प्रक्रियामा आएको एक दशक पुगेकाले द्वन्द्वका समयमा नेपाली समाज, अन्य मुलुकको द्वन्द्वको अनुभव, दलित समुदायको पीडा, महिला सशक्तीकरण लगायत विषयवस्तुमा तस्बिर प्रदर्शनी भएको हो । बुङ्गमती र पाटनको मत्स्येन्द्रहबहालमा भने मत्स्येन्द्रनाथको विभिन्न संस्कारसम्बन्धी तस्बिर प्रदर्शनी भइरहेको छ ।
खुला स्थानमा महोत्सव हुँदा धेरै दर्शकसम्म पुग्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्यालरीमा ५० जना दर्शकले अवलोकन गर्छन् भने खुला स्थानमा हुँदा ५०० दर्शक आइपुग्न सक्छन् ।” यी महोत्सवकै कारण नेपालीमा ग्यालरी नै पुगेर पनि हेर्ने बानीको समेत विकास हुन सक्छ ।
आयोजकले आमन्त्रण गरेर र विभिन्न माध्यमबाट जानकारी पाएकाले धेरै विदेशी पर्यटक समेत महोत्सवका लागि पाटन आइपुगेका छन् । विदेशी पर्यटकका कारण स्थानीय व्यापारी–व्यवसायीलाई समेत फाइदा पुग्ने शिल्पकार बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिलेदेखि नै नेपाल आउन चाहेका कतिपय विदेशीका लागि यो मौका समेत बनेको छ ।”
महोत्सव अवधिभर फोटोग्राफीका विभिन्न पक्षका विषयमा सम्मेलन र छलफल–गोष्ठी समेत आयोजना भइरहेको छ । नेपाली फोटोग्राफरलाई विदेशमा भइरहेको प्रयोग जानकारी गराउने उद्देश्य पनि महोत्सव आयोजकको छ । नेपाली फोटोग्राफीले अन्तर्राष्ट्रिय स्तरमा चिनिन समेत यसले सहयोग गर्ने उहाँले बताउनुभयो । अघिल्लो वर्ष भएको महोत्सवकै कारण फोटोग्राफरले अन्तर्राष्ट्रियस्तरका प्रदर्शनीमा भाग लिन अवसर पाएका थिए । उहाँले भन्नुभयो, “हाम्रो फोटो अन्तर्राष्ट्रियस्तरमा चिनिन अघिल्लो वर्ष यसले सहयोग गरेको थियो र अहिले पनि गर्ने आशा गर्न सकिन्छ ।”
पहिलो महोत्सव भएको एक वर्षमा नै अहिले दोस्रो महोत्सवको आयोजना भएको हो । तेस्रोदेखि भने दुई÷दुई वर्षमा आयोजना गर्ने आयोजकको योजना छ । उहाँले भन्नुभयो, “झन्डै ७÷८ महिना त्यसकै तयारीमा लाग्नुपर्ने भएकाले दुई वर्षमा एक पटक गर्ने योजना छ ।” दुई पटक पाटनमा आयोजना भएकामा आगामी महोत्सव अर्काे सहरमा हुनेछ । रासस