काठमाडौ ९ कात्तिक । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न मुलुकबाट झण्डै एक अर्ब रुपैयाँको सुख्खा फलफूल (ड्राई फ्रुट्स) आयात भएको छ । तिहारलाई लक्षित गर्दै व्यापारीले खरिद बढाएकाले साउनदेखि असोजसम्मै कुल बार्षिक आयातको एक तिहाई ‘ड्राइ फ्रुट्स’ नेपाल भित्रिएको हो । 
भन्सार विभागको तीन महिने तथ्याङ अनुसार साउनदेखि असोजसम्ममा ९५ करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ आयात भएको छ । नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुन्छ । भाइटिकामा दिदी–बहिनीले दाजुभाईलाई टिका लगाएर सगुनको रुपमा दिने भएकाले यसलाई कतिपयले ‘भाई मसला’ समेत भन्ने गर्छन् ।
तिहारमा ओखर, काजु, किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, हाडे बदामलगायतका सुख्खा फलफूलको खपत धेरै हुने गर्छ । नेपालमा छिमेकी मुलुक भारत र चीन सहित बेलायत, इटाली, भियतनाम, युएई, इन्डोनेसिया, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिकालगयातका मुलुबाट यस्ता उत्पादन आयात हुने गरेका छन् ।
विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ८१ लाख किलोभन्दा बढी ‘ड्राइ फ्रुट्स’ आयात भएको हो । यस अवधीमा स्याउ, केरालगायतका हरिया तथा अन्य सुख्खा गरि करिब ३ अर्ब ४ करोड रुपैयाँ बराबरको फलफूल आयात भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ‘ड्राई फ्रुट्स’ को आयात मात्र करिब तीन अर्ब ३९ करोड भएको थियो । गत वर्ष विभिन्न मुलुकबाट करिब तीन करोड ६७ लाख किलो ‘ड्राई फ्रुट्स’ नेपाल भित्रिएको थियो । गत वर्ष सुख्खा र हरियो गरि करिब १० अर्ब ८२ करोड रुपैयाँ बराबरको फलफूल नेपालमा आयात भएको भन्सारको तथ्याङमा उल्लेख छ ।
नेपलमा चीन र भारतबाट नरिवल, बेलायत, इटाली, भारत र इटालीबाट काजु, भारत, अमेरिका, युएई, चीनबाट हाडे बदाम, भारतबाट कटुस, अमेरिका, बेलायत र भारतबाट ओखर, भारत र चीनबाट पेस्ता, इन्डोनेसिया, थाइल्यान्ड र भारतबाट सुपारी, मलेसिया, भियतनाम र भारतबाट बदाम, पाकिस्तान, कतार र भारतबाट खजुर, भारतबाटै किसमिस र सुकेको खुर्पाने, थाइल्यान्ड र बेलायतबाट सुकेको आरुबखडा नेपाल भित्रिएको भन्सारको तथ्याङमा उल्लेख छ ।
नेपालमा प्याक गरिएको एवं खुला दुवैरुपमा यस्ता फलफूल आउने गरेका छन् । कतिपय फलफूल भने मिसाएर प्याक गरि ल्याइने गरेको छ । तिहारका बेलामा यस्ता फलफूलाई मरिच, ल्वाङ, सुकुमेललगायतका मसलासँगै राखेर दिदी–बहिनीले दाजुभाइलाई सगुनकोरुपमा दिने प्रचलन रहेको छ ।
प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार ०६:३५